विद्यार्थीले शुक्रबार त्रिवि केन्द्रीय क्याम्पस बन्द गर्ने



काठमाडौं ।

करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् । ६ विद्यार्थी संगठनले भोलि पुस ९ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको बैठकले गरेको निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो । संयुक्त विद्यार्थी संगठनले हिजो बुधबार त्रिविको घडी भवन सरसफाइ गर्दै शिक्षाध्यक्ष रजिस्ट्रारको मूल ढोकामा तालाबन्दी गरेका छन् । ती संगठनले बुधबार त्रिवि पदाधिकारीको पुतला दहन र त्रिवि सभा सदस्यलाई स्पष्टीकरण सोधेका छन् ।

त्यस्तै, त्रिवि परिसरमा चारपाङ्ग्रे सवारीसाधन चल्न नदिने, शुक्रबार त्रिवि क्याम्पस बन्द गर्ने र ११ गते त्रिवि परिसरमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम घोषणा गरेका छन् ।

आन्दोलनका कार्यक्रममा हस्ताक्षर गर्ने विद्यार्थी नेतामा अखिल क्रान्तिकारीका अध्यक्ष प्रदीप भट्ट, अनेरास्ववियु समाजवादी विद्यार्थी युनियनका कार्यवाहक सदस्य एवं त्रिविका कार्यवाहक अध्यक्ष रामनरेश यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं त्रिवि इन्चार्ज अनिल केसी, अखिल छैटौंका केन्द्रीय सदस्य पुरण पोखरेल र नेविसंघका विष्णु वडैला रहेका छन् ।

संगठनले माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । यसअघि एमाले निकट अनेरास्ववियुले करार शिक्षकलाई स्थायी गर्न लागेको विरोधमा खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्ति गर्न आग्रह गर्दै करिब एक महिनाअघि त्रिविका उपकुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

त्रिविका तीन पदाधिकारीले आफ्नो कुर्सी जोगाउन १० वर्ष काम गरेका शिक्षकलाई स्थायी गर्ने प्रस्ताव ल्याएका थिए । विभिन्न दलका नेताका आफन्त, त्रिविका पदाधिकारी, कर्मचारी र विद्यार्थी संगठनका नेताका आफन्तलाई करारमा जागिर खुवाएका थिए र उनीहरूलाई नै स्थायी गर्न पदाधिकारीले सिनेटबाट प्रस्ताव पारित गराएका थिए ।

तीनै पदाधिकारीको अडान नभएको कारण गम्भीर समस्या आएको विद्यार्थी र कर्मचारीको भनाइ छ । करिब ५ सय आंशिक शिक्षकलाई व्यवस्थापन गर्दा आर्थिक अभावका कारण त्रिवि टाट पल्टन सक्ने विषयलाई बेवास्ता गर्ने पदाधिकारीका कारण समस्या देखिएको उनीहरूको आरोप छ ।

सो प्रस्तावको विरुद्धमा विद्यार्थी संगठनले उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी जारी राखेका छन् । कुनै ठोस निर्णय गर्न नसक्ने उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा आंशिक प्राध्यापकलाई स्थायी गर्ने निर्णय गराएका थिए ।

उपकुलपति बास्कोटालगायतका तीन पदाधिकारीले पदावधि जोगाउन सो निर्णय गरेको विद्यार्थी संगठनको आरोप छ । खुला प्रतिस्पर्धाबिना स्थायी गर्न नहुने भन्ने विषयमा अडान राख्न नसकेका उपकुलपति बास्कोटाले कुलपतिको आदेश सहर्ष स्वीकार गरेको एक कर्मचारीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्