विदेशी शिक्षण संस्था निरीक्षणका लागि समिति गठन



काठमाडौं, (नेस) ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी ५ सदस्य समिति गठन गर्नुभएको छ ।

मन्त्री पौडेलको अध्यक्षतामा मंगलबार बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले ५ सदस्य समिति गठन गरेको होे । तर, समितिको नाम गोप्य राखिएको छ ।

समितिले उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका–२०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ साल माघ मसान्तमा समाप्त भइसकेको छ ।

नवीकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेस गरे पनि कोभिड–१९ लगायतका कारणले निरीक्षण तथा अनुगमन हुन नसकेको जानकारी दिँदै प्रवक्ता शर्माले भन्नुभयो– ‘उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका–२०५९ बमोजिम सञ्चालन अनुमति पाएका विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन निरीक्षण गरी रायसहित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउँछ । त्यही प्रतिवेदनको आधारमा नवीकरण हुने या नहुने निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्