न्याय सेवा आयोगको बैठक स्थगित



काठमाडौं, (नेस) ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यकाबाहिर रहेका कारण बैठक स्थगित भएको जानकारी गराउनुभएको छ ।

न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवालगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक राख्नुभएको थियो ।

प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्