बनेपामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण परीक्षण


मोतीराम तिमल्सिना, काभ्रे । 

स्थानीय तहहरुमा लैगिंक समानता तथा सामाजिक समावेशीकरणको अवस्थाका बारेमा पहिलो पटक बनेपा नगरपालिकामा परीक्षण गरिएको छ । नगरपालिकाले वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू तथा शाखा प्रमुखहरुहरुलाई लैगिक समानता तथा सामाजिक समावेशीकरण तालिम दिदै स्वमूल्याङ्कन गराएको छ । स्वमूल्याङ्कनमा नगरपालिकाले ६८ प्रतिशत प्राप्त गरेको छ ।

लैगिक समानता तथा सामाजिक समावेशीकरणका लागि नीति, कानून र योजना, संस्थागत ब्यवस्था, मानव संसाधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व सम्बन्धी विषयमा २०-२० वटा प्रश्नहरु समावेश गरी प्रत्येक प्रश्नमा १-१ नम्बर पुर्णाङ्क राखेर स्वमुल्याकंन गराइएको थियो । हरेक मूल्याङ्कनमा प्रमाण भएका विषयलाई मात्रै नम्बर उपलब्ध गराइएको थियो ।

नगर प्रमुख लक्ष्मीनरसिंह बादेले नगरपालिकाले हरेक क्षेत्रमा नागरिकहरूलाई सहज र सरल बनाउने उद्देश्यले योजना निर्माण, कार्यान्वयन र सहिजरकण गरिरहेको बताउँदै लैगिंक समानता तथा सामाजिक समावेशीकरणमा विशेष ध्यान दिएको बताउनु भयो । ‘धेरै काम भएको छ, प्रक्रियागत तथा शीर्षकमा शब्द नमिलेकै कारण मात्रै प्रतिशतमा कम देखिएको छ’– नगर प्रमुख लक्ष्मी नरसिंह बादेले भन्नुभयो–‘जनप्रतिनिधि निर्वाचित भए लगत्तै नीति, नियम र कानुन निर्माणमा समय खर्चिएकाले केही अभाव जस्तो देखिएको बताउनु भयो ।’

लैगिंक समानता तथा सामाजिक समावेशीकरणको सुचक विश्लेषण गर्दै उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले महिला तथा बालबालिका र युवाहरुका लागि योजनाबद्ध रूपले कार्य गरेको बताउनु भयो । ‘युवायुवतीहरुका लागि समूह गठन, किशोरी शिक्षा, महिलाहरूका लागि क्षमता अभिवृद्धि तथा सिप सिकाई, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष सहयोग र सहजीकरण गरिएको छ’–नगर उपप्रमुख रेखा सापकोटा दाहालले भन्नुभयो–‘सूचकमा रहेका धेरै प्रश्नहरूको उत्तर भए पनि अभिलेखीकरण नभएकाले प्रतिशतमा केही कमी हुन गयो ।

आगामी दिनमा ६८ प्रतिशतलाई ८० भन्दा माथि जाने गरी कार्य गर्न कार्यदल गठन गरिनेछ ।’ नगरपालिकाले विकास निर्माण लगायत नागरिकहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि योजनाबद्ध रूपले कार्य गरिरहेको नगर उपप्रमुख दाहालले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले नेपालमै पहिलो पटक बनेपा नगरपालिकाले लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी स्वमुल्याकन सार्वजनिक गरिएको बताउनु भयो । ‘धेरै सूचकहरू पुरा भएका छन्, त्यसलाई अझै व्यवस्थित गरि सुचकांकका धेरै सर्तहरू पुरा गरिनेछ’–प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भन्नुभयो –‘नगरपालिकाले नीति, कानुन र योजना, संस्थागत विकास, मानव संसाधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व सम्बन्धी कार्यलाई प्राथमिकतामा साथ अघि बढाएको छ ।’

स्वमूल्याङ्कन सार्वजनिक करण कार्यक्रममा वडा अध्यक्षहरुले प्रक्रियागत केही कमीकमजोरी भए पनि धेरै कार्य भइरहेको बताएका छन् । वडा अध्यक्ष बलराम अधिकारी, शाखा प्रमुख धु्र्वराज नेपालले अभिलेखीकरणलाई प्राथमिकता राख्नु पर्ने बताउनु भएको थियो । बालशक्ति नेपालका अध्यक्ष सुस्मा पोखरेल र नविन घिमिरेले तालिममा सहजीकरण गर्नु भएको थियो । बनेपा नगरपालिका महिला शाखा विजया सुवेदी र निर्मला कार्की लगायतले सरोकारवाला संघ संस्थाहरूका प्रतिनिधिहरू सहभागी थिए ।