आन्दोलनरत विद्यार्थीद्धारा त्रिवि क्याम्पस बन्द गर्ने घोषणा

करार शिक्षकलाई स्थायी गर्ने त्रिविको निर्णयको विरोधमा


 ईश्वरराज ढकाल, काठमाडौं ।

 करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् । ६ विद्यार्थी संगठनले पर्सि पुस ९ गते त्रिवि बन्द गर्ने घोषणा गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको बैठकले गरेको निर्णय विरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन । संयुक्त विद्यार्थी संगठनले हिजो त्रिविको घडी भवन सरसफाइ गर्दै शिक्षाध्यक्ष रजिष्ट्रारको मूल गेटमा तालाबन्दी गरेका छन् । ती संगठनले आज त्रिवि पदाधिकारीको पुत्ला दहन र त्रिवि सभा सदस्यलाई स्पष्टीकरण सोधेका छन् । त्यस्तै  त्रिवि परिसरमा चारपाङग्रे सवारी साधन प्रवेश निषेध गर्ने भोलि बिहिवार त्रिवि बन्द गर्ने र ११ गते त्रिवि परिसरमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनमा सहभागी विद्यार्थी संगठनका नेताहरुले हस्ताक्षर गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।

हस्ताक्षर गर्नेहरुमा अखिल क्रान्तिकारीका अध्यक्ष प्रदीप भट्ट, अनेरास्ववियु, समाजवबादी विद्यार्थी युनियनका कार्यवाहक सदस्य एवं त्रिविका काबा अध्यक्ष रामनरेश यादब, अहिल क्रान्तिकारीक केन्द्रीय सदस्य एवं त्रिवि इन्चार्ज अनिल केसी, अखिल छैठौका केन्द्रीय सदस्य पुरण पोखरेल र नेबिसंघका विष्णु वडैला रहेका छन् ।संगठनले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । यसअघि एमाले निकट अनेरास्ववियुले करार शिक्षकलाई स्थायी गर्न लागेको विरोधमा करिब एक महिना अघि त्रिविका उपकुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए । खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्ति गर्न उनीहरुले ज्ञापनपत्र बुझाएका हुन ।

त्रिविका तीन पदाधिकारीले आफ्नो कुर्सी जोगाउन १० वर्ष काम गरेका शिक्षकलाई स्थायी गर्ने प्रपञ्च बनाएका थिए । विभिन्न दलका नेताका आफन्त, त्रिविका पदाधिकारी, कर्मचारी र विद्यार्थी संगठनका नेताका आफन्तलाई करारमा जागिर खुवाएपनि उनीहरुलाईनै स्थायी गर्न पदाधिकारीले सिनेटबाट प्रस्ताब पारित गरेका थिए ।तीनै पदाधिकारीको अडान नभएको कारण गम्भीर समस्या विद्यार्थी र कर्मचारीको भनाई छ ।  करिब ५ सय आंशिक शिक्षकलाई व्यवस्थापन गर्दा  आर्थिक अभावको कारण त्रिवि टाट पल्टन सक्ने विषयलाई बेवास्ता गर्ने पदाधिकारीका कारण समस्या देखिएको हो ।

सो प्रस्ताबको विरुद्धमा विद्यार्थी संगठनले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी जारी राखेका छन् । कुनै ठोस निर्णय गर्न नसक्ने उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कुलपति एवं प्रधानमन्त्री शेरबाहुर देउवाको निर्देशनमा आंशिक प्राध्यापकलाई स्थायी गर्ने निर्णय गराएका थिए । उपकुलपति बास्कोटा लगाएतका तीन पदाधिकारीले पदाबधी जोगाउन सो निर्णय गरेको विद्यार्थीसंगठनको आरोप छ ।
खुला प्रतिस्पर्धा बिना स्थायी गर्न नहुने भन्ने विषयमा अडान राख्न नसकेका उपकुलपति बास्कोटाले कुलपतिको आदेश सहर्ष स्वीकार गरेको एक कर्मचारीको आरोप छ । सोही कारण सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ– ती कर्मचारीले भने ।