धुलिखेल नगरपालिकामा ७० प्रतिशत नागरिकको स्वास्थ्य बिमा 



मोतीराम तिमल्सिना, काभ्रे । 

नेकपा एमालेको सरकार अथार्त केपी ओली नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएको छ । तर वर्तमान गठबन्धन नेतृत्वको सरकारले नागरिकहरूले अस्पतालबाट लिएको स्वास्थ्य बिमा बापतको सेवाको रकम अझै भुक्तानी गरेको छैन ।

सरकारले भुक्तानी नगरेकै कारण केही अस्पतालले नागरिकहरूलाई दिएको सेवा बन्द गरेका छन् भने कहिले साँघुरो बनाएका छन् । जिल्लाकै सबै भन्दा धेरै धुलिखेल नगरपालिका भित्रका ७०.५४ प्रतिशत नागरिकको स्वास्थ्य बिमा गरिएको छ । पनौतीमा ६२ प्रतिशत र पनौतीमा ४१ प्रतिशत नागरिकको बिमा भएको छ । धुलिखेल नगरपालिकाले स्वस्थ सहर कार्यक्रम घोषणा गरेको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले हरेक नागरिकहरूको स्वास्थ्य बिमा गरी नागरिकहरूलाई स्वस्थ राख्न खानपान, रहनसहन तथा अन्य क्रियाकलापमा परिवर्तन गराई नागरिकहरूको आर्थिक स्तर वृद्धि गर्ने योजना अनुरूप स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको बताउनु भयो ।

उहाँले नगरपालिकाले विपन्न नागरिकहरूको बिमा रकम बेहोर्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको बताउनु भयो । सरकारको असहयोगको बाबजुद नागरिकहरूमा प्रभावकारी बन्दै गएको स्वास्थ्य बिमा कार्यक्रम काभ्रेपलान्चोक जिल्लाका १ लाख ५ हजार ८२ नागरिकले बिमा गरेका छन् । बिमा बापत नागरिकहरूले ११ करोड ३५ लाख ४३ हजार ४ सय रुपैयाँ सङ्कलन भएको छ । बिमाका लागि ११ हजार ४१ परिवारले नयाँ दर्ता गरेका छन् भने नवीकरण ९ हजार ५ सय ३५ परिवारले गरेका छन् ।

बिमा गरिएका मध्ये ज्येष्ठ नागरिक विमति सदस्यहरूको सङ्ख्या ६ हजार २ सय ८८ जना, महिला स्वंसेवीका विमति सदस्यहरूको सङ्ख्या ४ सय ३५ परिवार, एचआइभी एड्स लागेका ५३ परिवार, कुष्ठ रोग लागेका २४ परिवार, पूर्ण अपाङ्ग भएका ४ सय ९ परिवार र एमडिआर टिबी भएका २ परिवारका गरी १ लाख ५ हजार ८२ नागरिकको बिमा भएको हो । अझै केही पालिकाहरुमा बिमा अभिकर्ताहरु बिमा गराउन नगएका कारण नागरिकहरूले बिमा गराउन पाएका छैनन् ।

जिल्लामा बनेपा नगरपालिकामा २३ हजार ३ सय ११, धुलिखेलमा २२ हजार ६ सय ८९, पनौतीमा १७ हजार १ सय १४ जना, पाँचखालमा १२ हजार ९ सय ६ जना, मण्डनदेउपुरमा १० हजार २ सय ४९, नमोबद्धमा ५ हजार ९ सय ८६ जनाले बिमा गराएका छन् भने भुम्लु गाउँपालिकामा ३ हजार ६ सय १० जना, रोशीमा २ हजार ४ सय ५७ जना, बेथान्चोकमा २ हजार ८७ जना, चौरीमा १ हजार ६ सय २८ जना, तेमालमा १ हजार ३ सय ५२ जना, महाभारतमा १ हजार ७० जना र खानि खोलामा ६ सय २४ जनाले बिमा गराएका छन् ।

जिल्लामा ३ लाख ५२ हजार ६ सय ७ जनसङ्ख्यामा १ लाख ५ हजार ८२ अथार्त २९.८० प्रतिशत नागरिकको स्वास्थ्य बिमा भएको छ । सबै भन्दा धेरै धुलिखेलका ७० प्रतिशत नागरिकहरूको स्वास्थ्य बिमा भएको छ भने खानि खोलामा ४ प्रतिशत नागरिकको बिमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्