किन लगाएनन् २५ प्रतिशतले दोस्रो मात्रा खोप ?



बाँके ।

बाँकेमा कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका २५ प्रतिशतले दोस्रो डोज नलगाएको पाइएको छ । बीचैमा खोप लगाउन छुटाएका (ड्रप आउट) व्यक्तिलाई समेट्न स्वास्थ्य कार्यालयलाई हम्मे–हम्मे परेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा पहिलो मात्रा खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप नलगाएपछि उनीहरु र नयाँलाई समेट्न सबै पालिकाबाट दैनिक खोप लगाउने व्यवस्था मिलाइएको छ । स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको कोभिड–१९ खोपसम्बन्धी जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा दिइएको जानकारी अनुसार जिल्लामा ६ लाख १९ हजार ३ सय ३७ जनसंख्या रहेकोमा १ लाख ४१ हजार ६ सय ७४ जनाले एउटा पनि खोप लगाएका छैनन् ।

बाँकेमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जिल्लामा ४५ प्रतिशतले कोरोनाको पूर्ण मात्रा (दोस्रो) लगाएको जानकारी दिनुभयो । जिल्लामा ६५ प्रतिशतले एक डोज खोप लगाएका छन् ।

पहुँच नपुगेका बस्तीहरुमा फोकस गरेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँले ओमिक्रोन देखिएसँगै खोप लगाउनेको संख्या बढेको जानकारी दिनुभयो । पछिल्लो समयमा बाँकेमा सबै पालिकाबाट दैनिक खोप दिने काम भइरहेको छ । केही समयपछि बच्चा दिने खोपसँगै कोरोनाको खोप पनि दिइने तयारी भएको छ । नरैनापुर गाउँपालिकामा सबैभन्दा कम कभरेज रहेको छ । पहिलो चरणको कोरोनाको बेला हटस्पट बनेको नरैनापुरमा खोपको कभरेज कम रहेको छ । स्वास्थ्य सम्बद्धहरु नरैनापुरलगायत कभरेज कम रहेको ठाउँलाई फोकस गरेर अघि बढेका छन् ।

नेपालमा शुरुमा कोभिसिल्ड प्रयोगमा ल्याइएको थियो । बाँकेमा ६७ हजार ४ सय ६९ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् । ३४ हजार ८ सय १७ जनाले कोभिसिल्ड दोस्रो डोज लगाएका छन् । ठूलो संख्याले कोभिसिल्डको दोस्रो डोज लगाएका छैनन् । पहिलो डोज लगाएको पाँच महिनापछि अर्को डोज आएकाले धेरै जनाले दोस्रो डोज नलगाएको सम्बद्धहरु बताउँछन् । जिल्लामा १ लाख ३४ हजार २ सय ८२ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । १ लाख २९ हजार ९ सयले दोस्रो डोज लगाएका छन् । १ हजार ८ सयले फाइजर र ३० हजार ९ सय ३५ जनाले ज्यान्सन खोप लगाएका छन् ।

भारतबाट आएकालाई नेपालगन्जमा नाकामै खोप लगाउने व्यवस्था मिलाइएको छ । नाकामा भेरोसेल खोप राखिँदा धेरै जनाले खोप लगाउन पाएका थिएनन् । भारतबाट आउनेले पहिलो मात्रा कोभिसिल्ड लगाएको पाइएको थियो । खोप फोकलपर्सन श्रेष्ठले अबका दिनमा नाकामा भेरोसेल र कोभिशिल्ड दुवै खोपको व्यवस्था गरिने बताउनुभयो । उहाँले खोपको अभाव नरहेकाले सबैलाई समेटिने बताउनुभयो । पछिल्लो समयमा कोरोना खोप लगाउनमा स्थानीय सकारात्मक भएको स्वास्थ्य सम्बद्धको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्