प्रदेश–१ सरकारको न्यूनतम साझा कार्यक्रम तयार



विराटनगर, (नेस) ।

प्रदेश–१ सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । एमाले नेतृत्वको सरकारले बजेट ल्याइसकेपछि गठन भएको गठबन्धन दलको सरकारले आफू अनुकूलका कार्यक्रम तय गर्न न्यूनतम साझा कार्यक्रम तयार पारेको हो ।

कार्यक्रम लेखन गर्न सांसद शेखरचन्द्र थापाको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार गरिसेको भौतिक पूर्वाधार तथा योजनामन्त्री हिमाल कार्कीले जानकारी दिनुभएको छ । समितिमा माओवादी केन्द्रका सांसद धीरेन्द्र शर्मा, नेकपा (एकीकृत समाजवादी) का राजन राई सदस्य छन् । जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले पार्टीका प्रतिनिधि पठाएका छन् । ‘एमाले नेतृत्वको सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटसमेत पुनरावलोकन गर्ने सरकारको तयारी छ’, मन्त्री कार्कीले भन्नुभयो– ‘हामीले जनताका अपेक्षा र प्रदेश सरकारसँग उपलब्ध साधन स्रोतबीच तादात्म्यता मिलाएर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेका थियौं । केही दिनभित्रै पूर्ण रूप दिएर सार्वजनिक गर्दै छौं ।’

मन्त्री कार्कीले समितिले बृहत्तर विषय र कार्यक्रमलाई भन्दा पनि पूरा हुने ढंगका कार्यक्रमलाई प्राथमिकता दिएको र खेस्रा लेखनको कार्य सकिएको जानकारी दिनुभयो । प्रदेश सरकारसँग रहेको थोरै समय र गर्नुपर्ने अधिक कामको चापबीच तयार भएको कार्यक्रमलाई गठबन्धन दलहरूको सहमतिमा अन्तिम रूप दिइने मन्त्री कार्कीको भनाइ छ । यसअघि एमालेका शेरधन राई नेतृत्वको सरकार गठन हुनासाथ सरकारको सयदिने कार्यक्रम घोषणा गरिएको थियो । तर, महत्वाकांक्षी रूपमा ल्याइएका अधिकांश कार्यक्रम असफल बनेका थिए ।

मुख्यमन्त्री राजेन्द्र राईले अघिल्लो सरकारले ल्याएको बजेटसमेत पुनरावलोकन गर्ने सरकारको तयारी रहेको जानकारी गराउनुभएको छ । बजेटलाई पुनरावलोकन गरी स्रोत सुनिश्चित भएका योजना–परियोजनालाई प्राथमिकता दिने उहाँको भनाइ छ । प्रदेश–१ मा सत्ता गठबन्धनका दल र सरकारबीच समन्वय गर्न कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन गरेको छ । एमाले फुटेर नेकपा (एस) भएपछि प्रदेश–१ मा पाँचदलीय गठबन्धनको सरकार गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्