एमसीसी संशोधन होइन खारेज गर्नुपर्छ : अध्यक्ष केसी



बुटवल, (नेस) ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको बिरुद्वमा रहेको बताउनुभएको छ । उहाँले नेपाल र नेपालीको हितमा एमसीसी छैन भन्ने जनताले बुझिसके पनि सत्तामा बस्नेहरूले भ्रम फैलाएको बताउनुभयो ।

एमसीसीका बिरुद्व मंगलबार बुटवलमा आयोजित बिरोध सभामा बोल्दै राष्ट्राघाती एमसीसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने बताउनुभयो । एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले संसद्बाट पास गर्नै नहुने र खारेजीको विकल्प नभएको बताउनुभयो । विकासका नाममा नेपाली भूमि प्रयोग गरेर चीनका विरुद्व गतिविधि चलाउने अमेरिकाको योजना बिफल बनाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

महाकाली बेच्दा र टनकपुर, अपरकर्णाली भारतलाई सुम्पिदा पनि सत्तामा बस्ने कतिपय दल र ति दलका नेताहरूले भ्रम छरेको उल्लेख गर्दै अहिले पनि एमसीसीको पक्षमा जनतालाई भ्रममा पारिएको बताउनुभयो । राष्ट्रियताको पक्षमा एमसीसीको बिरुद्वमा संसद्मा बोल्दा राष्ट्रिय जनमोर्चालाई एक्लै बनाइएको बताउंदै केपी ओलीले पहिल्यै पास गराउन लागेको एमसीसी अहिले कांगे्रस र एमाले मिलेर संसद्बाट पास गराउन सक्ने भएकाले जनतालाई सचेत बनाएर आन्दोलनमा उर्तानु पर्ने बताउनुभयो । उहाँले आन्दोलनबाट राणा, पञ्चायत र राजा फालिए पनि सत्तामा बसेका केही दल र ती दलका नेताहरूको स्वार्थका कारण देश र जनताले मुक्ति नपाएको बताउनुभयो ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले नेपालको कानुनभन्दा माथि राखेर एमसीसी ल्याउने षड्यन्त्र भइरहेको बताउँदै चीनलाई कमजोर बनाउन अमेरिकारले जबरजस्त ल्याउन खोजेको एमसीसी पूर्णरूपले खारेज गर्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता भेषराज भुसालले नेपाली जनतालाई एमसीसी मान्य नभएको बताउंदै आन्दोलनको दबाबबाट खारेज गरिने बताउनुभयो ।

नेकपा मालेका नेता गोपालमणि गौतमले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेजी गर्नुको अर्को कुनै विकल्प छैन भन्नुभयो । नेकपा मसाल, नेकपा माले, विप्लव नेतृत्व नेकपा, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका राजनीतिक दलले बुटवलमा एमसीसीबिरुद्व विरोध सभाको आयोजना गरेका थिए ।

एमसीसीविरुद्ध हेटौंडामा प्रदर्शन
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध वागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ । मंगलबार हेटौंडाको सीमाचोकमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, नेकपा मसाल मकवानपुर, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मञ्च नेपाल, मकवानपुरको संयुक्त आयोजनामा एमसीसी खारेजी माग राख्दै प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीले ‘नो एमसीसी–रिजेक्ट एमसीसी’, ‘राष्ट्रघाती एमसीसी खारेज गर’ लगायत प्लेकार्ड बोकेका थिए । प्रदर्शनलाई विप्लव मकवानपुर इञ्चार्ज नयन र नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर इञ्चार्ज सागरले सम्बोधन गर्नुभएको थियो । उहाँहरूले एमसीसी राष्ट्रहित नभएको भन्दै सरकारलाई एमसीसी फिर्ता गर्न आग्रह गर्नुभएको थियो । उहाँहरूले सरकारले एसीसी सम्झौता प्रक्रिया अगाडि बढाए कडा अन्दोलन गर्ने चेतावनी दिनुभयो ।

यसअघि हेटौंडामा रहेको एसीए कार्यालय हटाउन विप्लव नेतृत्वको नेकपासहित १५ संस्थाले ज्ञापनपत्र बुझाएका थिए । अमेरिकी च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत कार्यालय हटाउन कार्यालयकी प्रतिनिधिमार्फत् विप्लव नेतृत्व नेकपासहित संघसंस्थाले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका थिए ।

सरकारबाट वैधानिकता नपाएको विवादित विषय एमसीसीले हेटौंडामा कार्यालय खोलेर विगतदेखि विभिन्न गतिविधि सञ्चालन गर्नु गैरकानुनी भएकाले कार्यालय हटाउन पत्र बुझाइएको नेकपा केन्द्रीय सदस्य नयनले जानकारी दिनुभयो । नेपाल सरकारकै जिम्मेवार निकायको भवनमा कार्यालय स्थापना गरी शंकास्पदरूपमा कामकारबाही गर्दा नियमनकारी निकायहरू मौन बसेकाले नागरिक सरोकारवाला निकायले कार्यालय हटाउन आग्रह गरिएको उहाँको भनाइ छ ।

पत्रमा एमसीसी सम्झौता नेपालको सार्वभौमिकता, स्वाधीनता, संविधान, कानुन, सुरक्षा अन्तर्राष्ट्रिय मैत्री सम्बन्धविपरीत रहेको उल्लेख छ । सम्झौतामा उल्लेख गरेका घातक बुँदाहरुमा प्रस्ट नभएको र नेपाल सरकारले समेत संसद्बाट अनमोदन गर्न नसकेको स्पष्ट हुँदाहुँदै एमसीसीले कार्यालय खोलेकोप्रति गम्भीर आपत्ति रहेको पत्रमा भनिएको छ । देश र जनाताको हितविपरीतको सम्झौतालाई जबर्जस्ती लाद्ने कुचेष्टा नगर्न ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्