बालबालिकालाई मोडर्ना खोप लगाउन शुरू



तनहुँ ।

तनहुँमा मंगलबारबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन शुरू भएको छ । बन्दीपुर गाउँपालिकाबाट मंगलबारदेखि उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन शुरू गरेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

पुस ६ देखि ९ गतेसम्म बन्दीपुरका १ हजार ९ सय ५७ बालबालिकालाई खोप लगाउन शुरू भएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । जिल्लाका ३७ हजार ३७४ बालबालिका र १ हजार ३ सय ४९ अन्य गरी ३८ हजार ३ सय ७४ जनालाई विद्यालयमै मोडना खोप लगाइने उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालयको सहकार्यमा १० वटै स्थानीय तहले विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउन लागिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार व्यास नगरपालिकामा ४५, भानु नगरपालिकामा ३२, शुक्लागण्डकी नगरपालिकामा १२, भिमाद नगरपालिकामा १५, आँबुखैरेनी गाउँपालिकामा १८, देवघाट गाउँपालिकामा १३, रिसिङ गाउँपालिकामा १०, घिरिङ र बन्दीपुर गाउँपालिकामा ६/६ र म्याग्दे गाउँपालिकामा ५ गरी १ सय ६२ खोप केन्द्रमार्फत् खोप लगाउने तयारी भएको छ ।

व्यासका १० हजार ७ सय ४३, भानुका ५ हजार २३, शुक्लागण्डकीका ७ हजार ३ सय, भिमादका ३ हजार १५, म्याग्देका १ हजार ५ सय ६, घिरिङका १ हजार ६ सय १५, रिसिङका २ हजार ३ सय, देवघाटका १ हजार ५ सय ५४ र आँबुखैरेनीका ३ हजार १ सय ६१ बालबालिकालाई खोप लगाइने खोप अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार भानु, घिरिङ र आँबुखैरेनीमा पुस ७ देखि ९ गतेसम्म खोप लगाइनेछ भने शुक्लागण्कडी र भिमादमा पुस ८ देखि ११ गतेसम्म खोप लगाइनेछ ।

त्यस्तै, व्यास नगरपालिकामा ८ देखि १३ गतेसम्म र म्याग्दे, रिसिङ र देवघाट गाउँपालिकामा ८ देखि ९ गतेसम्म खोल लगाइनेछ । सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरी खोप अभियान सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो ।

सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडना खोप अभियान सञ्चालन गर्दैछ । खोपहरू पूर्णरूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्