धमाधम राजीनामा दिँदै शिक्षक



काठमाडौं, (नेस) ।

राजनीतिमा लागेपछि जागिर चट हुने भयले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले शिक्षकलाई कुनै पनि राजनीतिक दलमा सक्रिय राजनीति गर्न पूर्ण बन्देज गरेको थियो । सोही आधारमा राजनीतिमा लागेका र आगामी स्थानीय र संघको निर्वाचनमा उम्मेदवार बन्ने मनसाय बोकेका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् ।

राष्ट्रिय शिक्षक किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले मंसिरमा मात्रै ३ सय ६८ शिक्षकले पदावधि बाँकी छँदै राजीनामा दिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करिब २७ सय रहेकामा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् ।

उहाँका अनुसार मंसिर महिनामा अनिवार्य अवकाश पाउने २ सय ६४, मृत्यु हुने १४ र उपदान लिने र अवकाश भएका ३४ गरी ६ सय ८० शिक्षक पद खाली भएको छ । उक्त खाली पदपूर्ति गर्न शिक्षक सेवा आयोगले परीक्षा लिनुपर्छ ।

‘यति धेरै संख्यामा शिक्षकले जागिर छाडेपछि किन राजीनामा दिए भन्ने विषयमा अनुसन्धान गर्नुपर्छ, यो विषयमा तालुकदार निकाय शिक्षा मन्त्रालयलाई समेत जानकारी गराइसकेको छु ।’ –महानिर्देशक खकुरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्