एक सातादेखि सडकमै फोहोर



काठमाडौं ।

आठ वर्षदेखि बाटो नबनाएको झोंकमा बाटो बन्द गरेपछि उपत्यकाको फोहोर बाटोमै थुप्रिएको छ । पासाङ ल्हामु राजमार्गको बालाजु–तीनपिप्ले खण्डको बाटो तत्काल पिच हुनुपर्ने माग गर्दै स्थानीयले बाटो बन्द गराएका छन् ।

बाटो बन्द भएपछि विगत ९ दिनदेखि उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन हुन सकेको छैन । ‘मंसिर २७ गतेदेखि लगातार अवरोध भएपछि फोहोर व्यवस्थापन गर्न सकेका छैनौं ।’ –कामपा वातावरण व्यवस्थापन विभाग कर्मचारी व्यवस्थापन महाशाखाका प्रमुख सरिता राईले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

हाल वातावरण व्यवस्थापन विभागको समेत जिम्मेवारी सम्हाल्नुभएका महाशाखा प्रमुख राईले फोहोर व्यवस्थापन गर्ने विषयमा स्थानीयसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘तारकेश्वर नगरपालिका क्षेत्रभित्रको सो बाटो निर्माण गर्ने विषयमा नगरप्रमुख र वडाध्यक्षसँग छलफल गरिरहेका छौं, केही दिनपछि समस्या समाधान हुन्छ ।’

ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै विगत ९ वर्षदेखि बाटो निर्माण गर्ने विषयमा चासो देखाएको छ । कामपाका अनुसार सो बाटोको ठेक्का शारदाप्रसाद अधिकारीको कम्पनीले लिएको जनाएको छ ।

महानगरको क्षेत्राधिकारभित्र नपर्ने भएपछि फोहोर व्यवस्थापन गर्न मुख्य भूमिका भएकाले सबै जिम्मेवारी महानगरलाई दिएको राईले बताउनुभयो । कामपाले फोहोर व्यवस्थापन गर्न नसकेपछि घरमै फोहोर व्यवस्थापन गर्न जनतालाई अपिल गरेको महाशाखा प्रमुख राईको भनाइ छ । फोहोर व्यवस्थापन नहँुदा उपत्यकाका १८ स्थानीय तहको फोहोर सडकमै थुप्रिएको छ ।

महानगरलगायत स्थानीय तहले स्थानीय जनता सुतेको मौका छोपेर राति ११ देखि १ बजेसम्म सिसडोलमा सुटुक्क फोहोर व्यवस्थापन गर्ने गरेको छ । १० दिन बितिसक्दा सोचेजति फोहोर बाटोमा थुप्रिएको छैन । मध्यरातमा फोहोर व्यवस्थापन गर्न केही समस्या हल भएको छ ।

फोहोर सुचारु गराउने विषयमा कामपाका मेयर विद्यासुन्दर शाक्यले पहल गरिरहेको जानकारी गराउँदै महाशाखा प्रमुख राईले भन्नुभयो– ‘के गर्ने महानगरपालिकाको मात्र हात छैन । विभिन्न सरोकारवाला मन्त्रालयले जिम्मा नलिएसम्म फोहोर व्यवस्थापन हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्