कांग्रेस पदाधिकारीमा महिला संख्या केवल एक



काठमाडौं ।

कांग्रेसको १४औं महाधिवेशनले चयन गरेको १४ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या केवल १ मात्र परेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरेको भए तापनि महिला कोटाबाटै सहमहामन्त्रीमा निर्वाचित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’ एकमात्र महिला पदाधिकारी हुनुभएको छ । उपसभापतिमा सुजाता कोइराला र दिव्यश्वरी शाहबाहेक आरक्षण बाहिरबाट अन्य महिला नेतृ प्रतिस्पर्धामै उत्रिएनन् ।

कार्यसमितिमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न कांग्रेस विधानमा सहमहामन्त्री १, महिला खुला ९, प्रत्येक प्रदेशबाट १–१ जना गरी सात, आदिवासी÷जनजाति कोटामा १, खस÷आर्य कोटामा ६ जना, मधेसी कोटामा ४ जना, थारू कोटमा २ र मुस्लिम कोटामा १ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

सभापति र महामन्त्रीमा महिलाको उम्मेदवारी नै परेन । पदाधिकारीमा कोषाध्यक्ष मनोनित हुने भएकाले महिला आउँछन् कि पुरुष अहिले स्पष्ट भएको छैन । कांग्रेसको निर्वाचित हुने १ सय २१ केन्द्रीय सदस्यमध्ये खुला ३५ जनामा पनि महिलाले प्रतिस्पर्धा गरेका छैनन् ।

कांग्रेस अधिवेशनमा महिलाहरू आरक्षणबाहेकमा प्रतिस्पर्धामै नआउनुका कारणबारे महिला कोटाबाटै केन्द्रीय सदस्यमा निर्वाचित डा. डिला संग्रौला भन्नुहुन्छ– ‘कांग्रेस अधिवेशनमा धेरै प्रतिस्पर्धा हुन्छ । यसरी प्रतिस्पर्धामा उत्रन गुट अथवा समूहको आवश्यकता पर्छ । एक्लै प्रतिस्पर्धा गरेर चुनाव जितिँदैन । टिममा पार्न शीर्ष नेताहरूले नै चाहँदैनन् ।’ उहाँले पदाधिकारीमा पनि ३३ प्रतिशत महिला अनिवार्य गर्ने सवालमा आउँदो विधान अधिवेशनमा एजेन्डा बनाउने बताउनुभयो ।

विधानअनुसार कांग्रेस केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनित गर्ने प्रावधान छ । १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याउने हो भने कोषाध्यक्षसहित १५ जना मनोनित गर्दा १४ जना महिला अनिवार्य राख्नुपर्ने देखिन्छ । यो अधिवेशनमा महिला खुलातर्फ सभापति देउवा प्यानलबाट चुनावमा प्रतिस्पर्धा गर्नुभएकी डा. संग्रौलाले सर्वाधिक २ हजार ८ सय ८५ मत ल्याएर विजयी हुनुभएको छ । महिला खुलातर्फ ९ जनाको कोटामा ३० जनाको प्रतिस्पर्धा भएको थियो । जसमा पुष्पा भुसाल, डा. आरजु राणा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, रमा कोइराला, सुशीला ढकाल, रंगमति शाही र सरिता प्रसाईं निर्वाचित हुनुभएको छ । निर्वाचित नौ महिलामध्ये प्रसाईंबाहेक सबैले सभापति देउवाको प्यानलबाट चुनाव लडेका थिए । प्रसाईंले भने सभापतिका प्रत्यासी डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।

उद्योगपति चौधरी केन्द्रीय सदस्यमा निर्वाचित
उद्योगपछि विनोद चौधरी कांग्रेस केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ । मधेसी कोटातर्फ उम्मेदवारी दिएका चौधरीले २ हजार २ सय मत ल्याई विजयी हुनुभएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभएको छ । केन्द्रीय सदस्य मधेसी (खुला) तर्फ पाँच पदका लागि २३ जनाको उम्मेदवारी परेको थियो ।

मतपरिणामअनुसार मधेसी कोटातर्फ सर्वाधिक मत अजयकुमार चौरासियाको आएको छ । कुल खसेको ४ हजार ६ सय ७१ मतमध्ये उहाँले २ हजार ५ सय २२ मत पाउनुभएको छ । मधेसी खुलातर्फ निर्वाचित हुने अन्य तीन जनामा चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय हुनुहुन्छ । मधेसी महिलातर्फ चार जनामा नागिना यादव, मञ्जुकुमारी यादव, मीनाक्षी झा र मुक्ताकुमारी यादव विजयी हुनुभएको छ ।

यसै गरी, वागमती प्रदेशको खुला दुईमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । कुल खसेको ४ हजार ६ सय ५८ मतमध्ये रञ्जितले २ हजार ४ सय १९ मत र केसीले २ हजार १ सय २९ मत प्राप्त गर्नुभएको छ । ६ जना प्रतिस्पर्धी रहेको वागमती प्रदेशको खुलामा ध्रुवप्रसाद अधिकारीले २ हजार १ सय ११ मत प्राप्त गर्नुभएको थियो । यो प्रदेशको ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्