अस्तव्यस्त कामपा : चेक काट्न बन्द, नक्सा स्वीकृत ठप्प



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने ५ उच्च कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगर अस्तव्यस्त छ ।

कामपाका अधिकांश कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले फसाएको भन्दै काम गर्न छाडेका छन् । महानगरका कर्मचारी रामप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कर्मचारी साथीहरू फसेको हामीले महसुस गरेका छौं । अब कुनै पनि विषयमा दबाबमा कार्यालयको निर्णय नगर्नुहोला, म पनि गर्दिनँ ।’

यस्तो अवस्थामा महानगर समस्यामा गुज्रिएपछि कर्मचारीमा काम गर्ने जाँगर हराएको छ । यहाँसम्म कि पाँच दिनदेखि महानगरको नक्सा स्वीकृतिको काम ठप्प छ । चेक काट्ने बन्द भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा महाशाखाका निमित्त प्रमुख वीरबहादुर खड्काविरुद्ध मुद्दा दायर गराएपछि नक्सा स्वीकृतिको काम ठप्प भएको छ । नक्सापासपछि अन्तिम स्वीकृत प्रदान गर्ने खड्काविरुद्ध मुद्दा परेपछि कसैलाई पनि निमित्त दिइएको छैन ।

कामपाका कर्मचारीले सम्झौता प्रक्रियामा सक्रिय भएर लाग्ने प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवाली कार्यालयमा कम देखिन थाल्नुभएको छ । उहाँकै कार्यशैलीको कारण कर्मचारीलाई काम गर्न समस्या परेको कर्मचारीले बताएका छन् । अहिले सबै काम रोकिएको छ । खरिद एकाइ प्रमुख बखतबहादुर साउदमाथि मुद्दा दायर गरेपछि खरिद एकाइको सबै प्रक्रिया रोकिएको छ । चेकमा हस्ताक्षर गर्ने प्रशासन महाशाखाका उपनिर्देशक सुमन अधिकारीमाथि पनि मुद्दा दायर भएपछि चेकमा हस्ताक्षर हुन सकेको छैन ।

कामपा प्रशासन विभाग प्रमुख महेश काफ्लेले महानगरपालिकामा नियमित काम भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘सबै काम भइरहेको छ । कुनै पनि समस्या देखिएको छैन ।’ तर, उहाँले भनेजस्तो सबै काम भएको होइन कुनै पनि काम हुन सकेको छैन । ‘कामपाले दैनिक करिब ३ करोड रुपियाँ बराबरको चेक काट्ने गथ्र्यो । दैनिक १० भन्दा बढी नक्सा स्वीकृत हुन्थे । उच्च तहका कर्मचारीमाथि मुद्दा दायर गरेपछि सबै काम ठप्प भएको छ ।’ –एक कर्मचारीले भने । रकम तिर्न र नक्सा स्वीकृत गर्न अर्को व्यवस्था नगरेपछि महानगरमा आउने ग्राहक आक्रोशित हुन थालेका छन् ।

कामपाका प्रवक्ता ईश्वरमानसिंह डंगोलले केही दिनमा जिम्मा दिने तयारी भइरहेको बताउनुभयो । चेकको हस्ताक्षर गर्ने र नक्सा स्वीकृत गर्ने व्यक्तिविरुद्ध मुद्दा दायर भएका कारण समस्या परेको बताउँदै उहाँले भन्नुभयो– ‘अब जिम्मेवारी दिने तयारीमा छौं । त्यस विषयमा छलफल भइरहेको छ ।’ नक्सा शाखाको अन्तिम हस्ताक्षरबाहेक अन्य नियमित काम भइरहेको उहाँको भनाइ थियो ।

भवन निर्माण सम्झौता गर्ने क्रममा गलत नियत देखिएको भन्दै पाँच कर्मचारीमाथि मुद्दा दायर गर्दा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि कुनै कारबाही नभएको विषयमा सबैतिर चासो बढेको छ । प्रशासकीय अधिकृतको आदेश मान्ने कर्मचारीलाई मात्र मुद्दा दायर गरेपछि महानगरका कर्मचारीले आपत्ति जनाएका छन् । उच्च स्रोतका अनुसार महानगरका ठेक्का प्रक्रिया अघि बढाउन मुख्य भूमिका खेल्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीमाथि नै कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ । एक कर्मचारीले भने– ‘केही मुख्य भूमिकामा रहेका साथीमाथि मुद्दा दायर भएपछि काम गर्न मनै लागेको छैन । माथिका मान्छे जोगिने अन्यलाई फेरि मुद्दा दायर हुने त होइन भन्ने त्रासमा छौं ।’

प्रतिक्रिया दिनुहोस्