पार्टीले गरेको कारबाही अवैध छ, अस्वीकार गर्छु : मिलन पाण्डे



न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीको संयोजकबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका मिलन पाण्डेले उक्त निर्णयलाई अवैधानिक भनेका छन् । उनले पार्टीको उक्त निर्णयलाई ‘दुराशयको पराकाष्ठा’ भन्दै उक्त निर्णयलाई अस्वीकार गर्ने बताएका छन् ।

मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाण्डेलाई कारबाही गरेपछि उनले एक विज्ञप्ति जारी गरी आफ्नो आस्थालाई कसैले खोस्न र कारबाही गर्न नसक्नेसमेत बताएका छन् ।

यस्तो पाण्डेको विज्ञप्ति :
म माथि कारबाही गरिएको समाचार प्रति संक्षिप्त प्रतिक्रिया

विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र, विधान र विचार विपरीत एकाएक पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा हिँड्न पुगेका पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज अबैधरूपमा आफ्नो समूहको बैठक बोलाई मलाई पार्टी संयोजकबाट निष्कासन गरेको भन्ने समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु।

साथै, म पार्टीका सदस्य तथा आम शुभेच्छुकहरूलाई अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न अनुरोध गर्दछु। मैले उन्नत, अग्रगामी र सुसंस्कृत विवेकशील साझा पार्टी निर्माणका लागि मेरो जीवनका सर्वाधिक ऊर्जाशील १० वर्ष खर्च गरेको छु। तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भई रहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा संलग्न हुँदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि मैले निरन्तर सक्दो योगदान गरेको छु। र, अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध छु। मेरो आस्थालाई कसैले खोस्न र कारबाही गर्न सक्दैन। पार्टी निर्माण मेरो लागी सत्ताको खेल भन्दा समाजका निम्ति गर्ने योगदान गर्ने अभियान हो। यो अभियानमा म अझ प्रतिबद्ध छु।

यसै प्रयोजनमा आजै बिहान हामीले विवेकशील साझा पार्टीमा हालका सम्पूर्ण केन्द्रीय समिति सदस्य समेत सहभागी २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को केन्द्रीय समिति घोषणा भएको छौ। यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माण गर्ने मूल कार्यक्रम हो। यो मङ्सिर २४, २०७४ मा भएको पार्टी एकीकरणको मर्म सहितको विवेकशील साझा पार्टीको निरन्तरता हो।

कानुनी रूपमा हाम्रो मुद्दा निर्वाचन आयोगले हेर्दै छ। मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ। अतः पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्र माथि लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै अधिकार छैन। हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भई रहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ।

मिलन पाण्डे
संयोजक
विवेकशील साझा पार्टी
२०७८/०९/०६

प्रतिक्रिया दिनुहोस्