एमसिसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाँण



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम आउनुभएका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा अगाडी बढेको भन्दै उक्त सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले देश विकासका लागि सरकारले नै एमसिसीको प्रस्ताव अघि बढाएको भन्दै एमसिसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पार्नुभयो ।

सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसिसी परियोजना अघि बढेको मन्त्री खाँणले स्पष्ट पार्नुभयो । एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलबीच छलफल चलिरहेको उल्लेख गर्दै उहाँले निष्कर्ष निस्किने र अगाडि बढ्ने बताउनुभयो ।

मन्त्री खाँणले भन्नुभयो, “एमसिसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।”

प्रतिक्रिया दिनुहोस्