भिजिट भिषामा दुबई पुगेका धादिङका १९ जना अलपत्र



धादिङ । 

काम गर्न भिषा नलागेपछि अनेक बहानामा ऋण खोजेर काम गर्न गएकाहरु समस्यामा पर्दै आएका छन् । भिजिन भिषाबारे जानकारी नभएका र सोही भिषा मार्फत विदेश पुगेकाहरूलाई समस्या हुँदै आएको हो । यसरी काम गरेर  कमाई हुन्छ भनेर विदेश पुगेकाहरु अलपत्र परेपछि देश फर्काईदिन अनुरोध गरिरहेका छन् । भिजिन भिषामा खाडी मुलुक दुबई काम गर्न गएका धादिङका १९ जना मजदुर अलपत्र परेका छन् ।

नेपालबाट भिजिन भिषा लिएर काम गर्ने योजनाका साथ दुबई पुगेका १९ जना भिषाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना मजदुर दुबईमा अलपत्र परेर उद्धारको प्रतीक्षामा रहेको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।

धादिङबाट भिजिन भिषामा गएपछि काम लगाइदिने प्रलोभन पारेर हरेकसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पीडित रमेश परियारले जानकारी दिनु भयो । नेपालबाट भिजिन भिषामा लगेर काम लगाउने भन्दै नबराज तामाङले दुबई पुर्‍याएर एउटा कोठामा ल्याएर राखेको पीडितले बताएका छन् । २५ जनालाई खाना खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्रवासन केन्द्रमा परेको उजुरीमा उल्लेख छ ।

साना किसान सहकारीबाट समेत गरी १४ लाख रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारीका लागि भिजिन भिषा पछ्याएकाहरु सबै जसोले समस्या भोगि रहेकोले कामका लागि कसैलाई पनि भिजिन भिषामा नजान दुवाडीले आव्हान गर्नुभएको छ । सूचना तथा परामर्श केन्द्रको पहलमा अलपत्रहरूलाई नेपाल ल्याउने पहल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्