एपीएफको पहिलो जित



काठमाडौं ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम नेपाल एपीएफ क्लबले पहिलो जित हात पारेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा एपीएफले फ्रेन्डस् क्लबलाई ३–१ गोलअन्तरले हराएको हो । योसँगै एपीएफले जारी लिगमा पहिलोपटक जितको स्वाद लिएको छ । टिमलाई जित दिलाउन आशिष लामाले २ तथा विकी तामाङले एक गोल गरे । फ्रेन्डस्को तर्फबाट प्रिजेन तामाङले एक गोल फर्काएका थिए ।

विकीले खेलको ३०औं मिनेटमा गोल गर्दै एपीएफलाई १–० को अग्रतामा राखेका थिए । उनले गरेको सशक्त प्रहार बारमा लाग्दै जाली चुमेको थियो । यसको दुई मिनेटमा आशिषले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । उनले नै ५६‌औँ मिनेटमा गोल थपेपछि एपीएफको जारी लिगमा पहिलो जित सम्भव भएको थियो ।

एपीएफ यो जितपछि पुछारबाट छलाङ लगाउँदै ११औं स्थानमा उक्लिएको छ । एपीएफको ५ खेलबाट ४ अंक रहेको छ भने १२औं स्थानमा रहेको जावलाखेलको पनि त्यति नै अंक रहेका छ । त्यस्तै, रेलिगेसन क्षेत्रमा रहेका च्यासल र फ्रेन्डस्को क्रमशः ४ र २ अंक रहेको छ ।

विभागीय टिममा विदेशी खेलाडी
लिगको इतिहासमा विभागीय टिमले विदेशी खेलाडी अनुबन्ध गरेको यो पहिलो अवसर बनेको छ । एपीएफले जापानी गोलकिपर युया कुरियामालाई खेलाएका थिए ।

उनीहरूका पहिलो रोजाइका गोलकिपर घाइते भएका हुँदा कुरियामाले मौका पाएका हुन् । जापानी खेलाडी कुरियामाले करिब आधा दर्जन गोल हुनबाट बचाएका थिए । तर, उनले फ्रेन्डस्का प्रिजेनले प्रहार गरेको पेनाल्टी किक भने बचाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्