सडक डिभिजनको लापरबाहीले सडक पुल अलपत्र



पर्वत ।

सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण कालीगण्डकी नदीमाथि बन्नुपर्ने तीन सडक पुल अलपत्र परेको पाइएको छ । कालीगण्डकी नदीमाथि पर्वत–बागलुङ जोड्ने दुई र पर्वत–म्याग्दी जोड्ने एक गरी तीन पुलको निर्माण कार्य संघीय सरकारबाट विगत तीन वर्षदेखि बजेट छुट्याइएको भए पनि सडक डिभिजन बागलुङको गलत रिपोर्टिङले अलपत्र परेको हो ।

मुस्ताङको कोरला नाकासम्म पुग्ने सडकअन्तर्गत पर्वतको वारिबेनी–बगरफाँट र म्याग्दीको बेनी जोड्ने कालीगण्डकी नदीमाथि बन्ने सडक पुलको दुवैतर्फ सडक छ । तर, बागलुङ डिभिजनले दुवैतर्फ पहुँच सडक नभएको र निजी तथा सार्वजनिक जग्गा भएकाले पुल निर्माण गर्न नसकिने भनी सडक विभागको पुल डिभिजन महाशाखामा गलत पत्रचार गर्दा पुल निर्माण रोकिएको पाइएको छ ।

त्यसै गरी, पर्वतको कुस्मा र बागलुङको बलेवा जोड्ने गरी कालीगण्डकी नदीमाथि बन्ने कल्लेरी सडक पुल तथा बागलुङको जैमिनी नगरपालिको सुस्माघाट र पर्वतको फलेवास नगरपालिका देवीस्थान–चदारे–बौर जोड्ने गरी बन्ने पुल पनि फिल्डमै नपुगी कार्यालयले गरेको गलत रिपोर्टिङले पुल निर्माण शुरु हुन सकेको छैन ।

सडक विभाग पुल महाशाखा स्रोतका अनुसार पुल निर्माण प्रक्रियामा जानु अगाडि सम्बन्धित सडक डिभिजनलाई स्थलगत सर्भे गरी पुलको लम्बाई, पहुँचमार्ग तथा जग्गाको अवस्थाबारे जानकारी गराउन पत्रचार गरिएको हुन्छ । सो पत्रचारअनुसार बागलुङ डिभिजनका तत्कालीन प्रमुख रामेश्वर लम्सालले २०७७ असोज २९ गते फिल्ड अध्ययन नगरी हचुवा र अन्दाजको भरमा तीनवटै पुल निर्माण स्थलमा सडक नभएको, पुलको लम्बाई १ सय मिटर रहेको, निजी तथा सार्वजनिक जग्गा पर्ने भन्दै गलत रिपोर्टिङ गर्नुभएको थियो ।

पुल निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुँदा पनि काम शुरु नहुँदा स्थानीयबासी रुष्ट बनेका छन् । सडक डिभिजन कार्यालय र डिभिजन प्रमुख लम्सालको लापरबाहीले गर्दा पुल निर्माण नभएको भन्दै पर्वत र बागलुङका जनप्रतिनिधिहरु समेत आक्रोशित बनेका छन् ।

‘सडक डिभिजनले यसरी पत्रचार गरेपछि हामीले पुल निर्माण प्रक्रिया शुरु गर्न मिल्दैन’, पुल डिभिजन स्रोतले भन्यो– ‘यदि यथार्थ त्यो होइन भने पुल निर्माण स्थलका स्थानीयबासी, जग्गाधनीले लाजपुर्जा तथा जग्गाको मुआब्जा माग नगर्ने प्रतिबद्धतासहित सडक विभागमा निवेदन दिनुपर्छ । साथै सम्बन्धित स्थानीय तहले पुल, सडक निर्माण गर्दा कुनै अवरोध नहुने प्रतिबद्धतासहितको सिफारिस गर्नुपर्छ । अनि मात्रै काम शुरु गराउन सकिन्छ ।’

पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ कार्यक्षेत्र रहेको सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण यी जिल्लाका थुप्रै पुल तथा सडक निर्माण अलपत्र परेका हुन् । समयमा काम हुन नसक्दा करोडौं बजेट फ्रिज हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्