चिलीमा सबैभन्दा कम उमेरका राष्ट्रपति



सान्टियागो , (एजेन्सी) ।

वामपन्थी उम्मेदवार गाब्रियल बोरिकले चिलीको राष्ट्रपतीय चुनाव जितेका छन् । उनी चिलीको इतिहासमै सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन् । अत्यन्तै कडा प्रतिस्पर्धायुक्त निर्वाचनमा ३५ वर्षीय जन प्रदर्शनका पूर्व नेता बोरिकले कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई दश अंकले पराजित गरेका हुन् । बोरिकले आफ्ना समर्थकहरूलाई आफूले प्रजातन्त्रको जगेर्ना तथा चिलीको नवउदार आर्थिक ढाँचालाई नियन्त्रण गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

पछिल्ला केही वर्षमा चिलीमा असमानता र भ्रष्टाचारविरुद्ध व्यापक आम विरोध प्रदर्शन भएको थियो । बोरिकको विजयमा राजधानी सान्टियागोका सडकहरूमा उत्सव मनाइएको छ ।
बोरिकले प्रजातन्त्रलाई सुदृढ गर्ने , शोषित पीडितहरूको अधिकारका लागि कडा संघर्ष गर्ने तथा राष्ट्रिय एकता र मानिसहरूको दैनिक आवश्यकतालाई बढी प्राथमिकता दिने आफ्नो विजय भाषणमा भनेका छन् ।

चुनावको आधिकारिक परिणामअनुसार कुल खसेको मतमध्ये बोरिकले ५६ र कास्टले ४४ प्रतिशत मत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्