म्यान्मारमा जुन्ता सरकारद्वारा सर्वसाधारणको आम नरसंहार



यांगुन, (एजेन्सी) ।

म्यान्मारको सैनिक सरकार (जुन्ता) ले गत जुलाइमा सर्वसाधारण जनताको श्रंखलावद्ध आम नरसंहार गरेको बीबीसीले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ । त्यसक्रममा कम्तीमा चालिस जना पुरुष मारिएको बताइएको छ । प्रत्यक्षदर्शी तथा सो अत्याचारबाट बच्न सफलहरूले करिब सत्र वर्ष उमेरका कलिला सैनिकसमेत सम्मिलित टोलीले गाउँलेहरूलाई घेराबन्दी गरेर पक्राउ गरेको तथा पुरुषहरूलाई मात्र छानेर हत्या गरेको बताएका छन् ।

ती आम नरसंहारसम्बन्धी प्राप्त भिडियो तथा तस्वीरका अनुसार तिनीहरूलाई मारेर सामूहिक चिहानमा गाड्नुअघि निर्मम यातना दिइएको थियो । ती हत्याकाण्ड विपक्षी राजनीतिक समूहको बलियो पकड रहेको म्यान्मारको मध्यभागमा रहेको सागाइङ जिल्लाको कानी शहरको चार वटा छुट्टाछुट्टै स्थानमा भएको थियो ।

गत फ्रेब्रुअरीमा भएको सैनिक विद्रोहपछि प्रजातनन्त्रको पुनःस्थापनाको माग राख्दै भएका छापामार समूहको आक्रमणको सजायस्वरूप त्यसरी सेनाले आम नरसंहार गरेको हुनुपर्ने अनुमान गरिएको छ । सैनिक सरकारका प्रवक्ताले आम नरसंहारको आरेपलाई अस्वीकार गरेको छैन ।

सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकी र जन निर्वाचित राष्ट्रपति यु विन मिन्टलगायत थुप्रै वरिष्ठ राजनीतिज्ञहरूलाई गिरप्mतार गरेर सत्ता हात पारेको थियो ।

संयुक्त राज्य अमेरिका र युरोपेली संघलगायत थुप्रै मुलुकले उक्त सैनिक हस्तक्षेपको विरोध गरेका थिए । तर, चीनले भने उक्त घटनालाई म्यान्मारको आन्तरिक मामिलाको संज्ञा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्