रक्षामन्त्री डा. रिजालको राजीनामा स्वीकृत



काठमाडौं, (नेस) ।

रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयले सोमबार विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम रक्षामन्त्री डा. रिजालले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले उक्त मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोक्नुभएको जानकारी दिएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका डा. रिजालले निर्वाचनमा पराजित भएपछि नैतिकताको आधारमा गत पुस १ गते मन्त्री पदबाट राजीनामा दिनुभएको हो । डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा. रिजालले मतगणना शुरु भएको केही घण्टामै पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका थिए भने अन्य उम्मेदवार डा. प्रकाशशरण महत र प्रदीप पौडेल पनि पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्