काठमाडौंमा एकैदिन दुई स्थानमा आगलागी

झन्डै ६ करोडको क्षति



काठमाडौं, (नेस) ।

काठमाडौंमा एकैदिन दुई स्थानमा आगलागी हुँदा झन्डै ६ करोडको क्षति भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मूलपानी र नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा आगलागी हुँदा झन्डै ६ करोडको क्षति भएको हो ।

युवराज केसीको मूलपानीे पीपलबोटस्थित रंग पसलमा सोमबार बिहान आगलागी भएको थियो । आगलागी हुँदा ४ करोडभन्दा बढीको रंग जलेर नष्ट भएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी डुण्डीराज न्यौपानेले बताउनुभयो । रंग पसलमा आगलागी भएको खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेका प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।

सोमबार नै दिउँसो करिब ३ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार आगलागीमा २ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

अचानक आगलागी भएपछि सञ्चालकले प्रहरीलाई खबर गरेको र खबर प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेका थिए । प्रहरीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाको दमकल समयमा नै घटनास्थलमा पुगेको कारण करिब एक घण्टामै आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको थियो । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी मीनबहादुर लामाले प्रारम्भिक अनुसन्धानमा इन्भर्टरमा आगलागी भएको देखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्