एमाले प्रतिगमनको बाटोमा : प्रचण्ड



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा एमाले प्रतिगमनको बाटोमा लागिरहेको टिप्पणी गर्नुभएको छ । उहाँले संसद् बैठक निरन्तर अवरुद्ध गरेर एमालेले प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गर्दै भन्नुभयो–‘सदनभित्र जे देखेर, भोगिरहेका छौँ, त्यो प्रतिगमनको निरन्तरता हो, संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षड्यन्त्रमा एमाले अहिले पनि लागिपरेकै छ ।’

राजधानीमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल देखिएपछि सदनमा उपस्थित नहुने भनिराख्नुभएको बताउँदै प्रचण्डले प्रश्न गर्नुभयो–‘योभन्दा अराजनीतिक र अलोकतान्त्रिक चरित्र अरु के हुन्छ ?’ सर्वोच्च अदालबाट ह्वीप नलाग्ने फैसलाबमोजिम सभामुखले १३ दिनभित्रै निर्णय लिनुभएको स्मरण गराउँदै उहाँले सभामुखबाट संविधानको मर्म र भावनाको उल्लंघन नभएको दाबी गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको, संसद्ले स्वीकार गरेको र पाँच दलीय गठबन्धनका आधारमा सरकार बनेको उल्लेख गर्दै प्रचण्डले एकीकृत समाजवादीलाई अस्वीकार गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो । पाँच दलीय सत्ता गठबन्धन भत्काउन विभिन्न चलखेल भइरहेको भन्दै बताउदै प्रचण्डले गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमसीसी परियोजना पारित गर्न दिने भनी एमाले अध्यक्ष ओलीले दिएको तर्कले आफूहरूलाई नयाँ ढङ्गले सतर्क हुन मद्दत गरेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘सत्ता गठबन्धन अन्य शक्तिलाई पनि गोलबन्द बनाएर प्रतिगमनलाई पररास्त गर्ने गरी प्रस्तुत हुन्छ ।’ गठबन्धनलाई कुनै हालतमा कमजोर हुन नदिने विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पटकपटक छलफल गरेको जानकारी दिँदै उहाँले प्रधानमन्त्री स्वयंले ‘गठबन्धन टुटाउ, समर्थन गर्छु’ भन्ने प्रवृत्तिलाई सफल हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नुभएको थियो । सर्वोच्च अदालतले संसद् विघटन असंवैधानिक रहेको ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापित भएको थियो । पुनःस्थापित प्रतिनिधिसभालाई ओलीले गत जेठ ७ गते पुनः विघटन गर्नुभएको थियो । दोस्रो पटकको विघटनलाई पनि असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी एमालले पुनःस्थापित प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्