अन्नपूर्ण आधारशिवरका होटेलमा कालिजको स्वाद चाख्न पाइने


टंकराज अधिकारी, कास्की । 

विश्वको उत्कृष्ट पदमार्ग अन्तर्गतको घान्द्रुक हुँदै अन्नपूर्ण आधारशिवरमा घुम्न आउने पर्यटकहरूले कालिजको स्वाद चाख्न पाउने भएका छन् । अन्नपूर्ण आधारशिवर पदयात्रा मार्ग अन्तर्गत किम्रोङखोला र छाम्रोङ गरी दुई स्थानमा सञ्चालित व्यवसायकि कालिज फार्ममा कालिज हुर्किएसँगै यहाँका पर्यटन व्यसायीहरु पर्यटकलाई कालिजको स्वादले स्वागत गर्न सक्षम भएका छन् ।

कालिजको मासुका पारखीलाई लक्षित गर्दै गत वर्षको लकडाउनमा घान्द्रुकमा दुई वटा व्यावसायिक कालिज फार्म संचालनमा आएका थिए । ‘घान्द्रुक हुँदै अन्नपूर्ण आधारशिविर जाने पर्यटकले अब बोइलरको मासुमा चित्त बुझाउनुपर्ने बाध्यता हटेको छ,’ घान्द्रुक एग्रो फार्मका सञ्चालक ललित गुरुङले भने, ‘अब हामी पर्यटकको माग बमोजिम नै कालिजको मासु खुवाउन सक्षम भएका छौं ।’ उनले स्थानीय किम्रोङखोलामा सञ्चालन गरेको फार्ममा करिब १२ सय कालिज हुर्किएका छन् । त्यस्तै करिब ५० वटा बाख्रा छन् ।

वैशाख महिनामा करिब दुई हजार कालिजका चल्ला फार्ममा राखिएको थियो । यद्यपि वर्षाद्को समयमा फार्ममा बाढी पसेर करिब आठ सय चल्ला मरेको गुरुङले बताए । उनका अनुसार गत वैशाखमा फ्रान्सबाट ४ हजार अण्डा ल्याएर काठमाडौँमा ह्याकिङ गर्दा २१ दिनमा करिब २ हजार चल्ला निस्किएका थिए । तिनै १ दिने चल्लालाई फार्ममा ल्याएर ब्रुडिङ गरिएको थियो । ब्रुडिङ गरिएको करिब ९ महिनामा कालिज मासुका लागि योग्य भएको उनको भनाई छ । अहिले फार्मबाट दैनिक ५ देखि १० वटा कालिज बिक्री हुँदै आएको सञ्चालक गुरुङले बताए । मासुका लागि भने भाले कालिजको मात्र बिक्री गरिएको छ ।

गाउँमै कालिजको व्यावसायिक उत्पादन हुन थालेपछि घान्द्रुकमा सञ्चालित होटेलका मेनुमा कालिजको परिकार समावेश हुन थालेको छ । ‘हाम्रो मेनुमा कालिज राखी सकेका छौ,’ होटेल रक एण्ड मडका सञ्चालक लक्षित गुरुङले भने, ‘घान्द्रुक घुम्न आउने पर्यटकलाई नयाँ स्वादका रूपमा कालिज चखाछौं ।’अहिले फर्ममा हुर्किएका कालिजको प्रजनन् प्रक्रिया सुरु भइसकेको छ ।  अब फागुनको दोस्रो सातादेखि अण्डा उत्पादन सुरु हुन्छ । अण्डाबाट चल्ला उत्पादन गर्ने फार्मको लक्ष्य छ । यद्यपि ह्याकिङ गर्न भने पोखरा ल्याउनुपर्ने बाध्यता छ । फार्मसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन विस्तार हुन बाँकी छ ।

त्रिपेज लाइन विना ह्याकिङ मेशिनका लागि पावर पुग्दैन ।उता छोम्रोङ अर्गानिक फार्मले पनि कालिजको बिक्री सुरु गरेको छ । फर्ममा करिब ७५० कालिज हुर्किएका छन् । सञ्चालक दिलिप गुरुङका अनुसार अहिले सम्म १ सय ५० कालिज प्रतिगोटा ३ हजारका दरले बिक्री भएको छ । उनी छोम्रोङ होटेल व्यवस्थापन समितिका सचिव समेत हुन् । उनले अन्नपूर्ण आधार शिविरसम्म नै कालिजको मासु उपलब्ध गराउने तयारीमा रहेको बताए । ‘हाम्रो उत्पादनको पहिलो प्राथमिकता घान्द्रुकदेखि अन्नपूर्ण आधारशिविरसम्मा हुन्छ,’ उनले भने, ‘अब यहाँका सबै होटेलका मेनुमा कालिज समावेश हुन्छ ।’

पुजेनियमदेखि अन्नपूर्ण आधार शिविरसम्म भैँसी र पार्कको मासु वर्जित छ । यद्यपि खसी बोका र कालिजका लागि खुल्ला छ । भैँसी र पार्कको मासु लगे अनिष्ट हुन्छ भन्ने त्यहाँको पुरानो चलन अद्यापि कायमै छ । नेपालीका लागि कालिज नयाँ होइन यद्यपि कालिजको मासु धेरै मन पराउने भएकाले राम्रो बजार देखेर व्यावसायिक रूपमा फार्म नै सञ्चालनमा ल्याइएको व्यवासीहरु बताउँछन् ।

वनजंगलमा मात्र पाइने कालिजको मासु कानुनअनुसार सहजै खान पाइने कि नपाइने भन्ने विषयमा धेरैको जिज्ञासा हुन सक्छ । तर सरकारले व्यावसायिक रूपमा वन्यजन्तु पालन गर्न पाइने व्यवस्था लागू गरेसँग नेपालमा यस्ता व्यवसाय फस्टाउँदै गएको सन्दर्भमा कालिजको मासु खान चाहनेहरूको सपनालाई घान्द्रुकका होटेल व्यवसायीले सहजै पूरा गर्न थालेका छन् ।

कालिजको मासुमा चिल्लोपन कम हुने हुँदा स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । यसको मासुमा कोलेस्ट्रोलको मात्रा कम हुने विज्ञहरूको भनाई छ । यसको मासु खाँदा चिसोबाट बच्न, सुत्केरी, युरिक एसिड भएका बिरामीका लागि पनि राम्रो  मानिन्छ ।