शासक दलहरुका गतिबिधिले देश चौतर्फी ढंगले संकटमा पर्दै: बिजुक्छे

एमसीसी सम्झौता अमेरिकी सहयोग होइन विष भएको नेमकिपाको ठहर


पुष्कर बुढाथोकी, भक्तपुर । 

नेपाल मजदुर किसान पार्टीको ३२ औं केन्द्रीय परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गरेको छ ।पारित निर्णय सार्वजनिक गर्दै नेमकिपाले एमसीसी सम्झौता अमेरिकी सहयोग होइन विष नै हो भन्दै देशघाती एमसीसी सम्झौता अविलम्ब खारेज गर्न प्रतिनिधिसभा, सरकार र शासक दलहरूको ध्यानाकर्षण गराएको छ ।

एमसीसी हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन तथा नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप एवम् नेपाललाई भारतको प्रदेशजस्तो बनाउने षडयन्त्र भएको उसको ठहर छ ।प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरी नारा लगाएको तर बैठक अवरोधकै बीच कार्यसूची पेश तथा पारित गर्नु संसदीय मान्यता र प्रजातन्त्रविपरीत भएको हुँदा यस्तो अराजक स्थिति अन्त्य गरी संसद् बैठकमा शून्य समय, सार्वजनिक महत्वको प्रस्ताव, प्रश्नोत्तर लगायत कार्यसूची समावेश गरी प्रतिनिधिसभालाई देश र जनताको हितमा अगाडि बढाउन पार्टीको परिषदले शासक दलहरूको ध्यानाकर्षण गराउँदछ भनिएको छ ।

बहुदल पुनःस्थापना र गणतन्त्रयता नेका, एमाले माओवादी नेतृत्वका सरकारहरूले आन्तरिक उत्पादनलाई प्राथमिकता नदिई विप्रेषण, गाडी आयातको भन्सार महसुल, मदिरामा अन्तशुल्क र सार्वजनिक ऋणको भरमा देशको अर्थतन्त्र चलाउँदै आएकोमा विरोध गरेको छ ।सामान्य प्रविधिको व्यवस्थापन गर्नसमेत निर्वाचन आयोगलाई अमेरिकी सहयोग निकाय यूएसएड र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएफईएस) को सहयोग लिनुपर्ने अवस्था अन्त्य गर्न र आयोगलाई आवश्यक बजेट नेपाल सरकारबाटै व्यवस्था गर्न नेमकिपाले सरकारको ध्यानाकर्षण गराएको छ ।नेपाली युवाहरूलाई स्वदेशमा रोजगारी दिएर आन्तरिक उत्पादन बढाई व्यापार घाटा घटाउन माग गरेको छ ।राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधिसभाको निर्वाचनमा तीन प्रतिशतको मत प्राप्त गर्नुपर्ने र प्रदेशसभामा मान्यता पाउन प्रदेशसभाको निर्वाचनमा एक दशमलव पाँच प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरीतको कानुनी प्रावधान मतसीमा (थ्रेसहोल्ड)खारेज गर्न नेमकिपाले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

कृषिमा आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि स्वदेशमै रसायनिक मल कारखानाको स्थापना, कृषियोग्य भूमिमा सिँचाइको व्यवस्था, उन्नत जातका बीउबिजनको विकास गरी किसानहरूलाई उपलब्ध गराउनु जरूरी रहेको नेमकिपाको ठहर छ । काठमाडौँ उपत्यकालाई आवश्यक ४० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको तथ्यबाट आजसम्मका सरकारहरू नालायक साबित भएको उसले आरोप लगाएको छ ।उपत्यका बाहिर स–साना सहरहरूको विकास गरी देशको सन्तुलित विकास गर्न पार्टी परिषदले जोड दिएको छ ।हालसम्म कोभिड बिरुद्धको खोप नपाएका ६० प्रतिशत नेपालीलाई अविलम्ब निःशुल्क खोपको व्यवस्था गर्न परिषद् सरकारको ध्यानाकर्षण गराउँदछ नेमकिपाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

विद्यालय तहको शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न नेमकिपाले सरकारको ध्यानआकर्षण गराएको छ । पेट्रोलियम पदार्थको आयात कम गरी व्यापार घाटालाई न्यूनीकरण गर्न सरकारले नै जलविद्युत् उत्पादन गरी जनतालाई सस्तो मूल्यमा विद्युत् उपलब्ध गराउने र विद्युतीय बस, रेल, रोपवे तथा अन्य विद्युतीय यातायातलाई प्रयोगमा ल्याउन नेमकिपाले जोड दिएको छ ।
नेपालका ८० लाखभन्दा बढी युवालाई आफ्नो घर–खेत बेच्न लगाई वैदेशिक रोजगारीको नाममा म्यानपावर कम्पनीहरूले बहुराष्ट्रिय कम्पनीहरूलाई सस्तोमा ज्यामी पठाइरहेको हुँदा त्यस्ता कम्पनीहरूमाथि मानव बेचबिखनको मुद्दा लगाई कडा कारबाही गर्न नेमकिपाले माग गरेको छ।कालो धन र स्रोत नखुेलको धन राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएको छ ।देउवा सरकारले हुम्लाको नाम्खामा चीनबाट नेपालको भूमि मिचिएको अध्ययन कार्य दल गठन गरेको भारतबाट नेपालको ७१ भन्दा बढी ठाउँमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण गरेको ढाकछोप गर्नु हो उसले भनेको छ ।

अमेरिकालाई प्रजातन्त्र र मानव अधिकारको परिभाषा गर्ने कुनै अधिकार नभएको परिषद्को ठहर छ । एक चीन नीति विपरीत चालु राखेको अमेरिकाको हस्तक्षेपकारी तथा युद्ध भड्काउने गतिविधि शीघ्र बन्द गर्न परिषदले जोड दिएको छ ।अमेरिकाको जलवायु परिवर्तनको लडाइँको नेतृत्व गर्ने दाबी विरोधाभासपूर्ण भएको नेमकिपा परिषद् बैठकको ठहर छ ।

देश चौतर्फी ढंगले संकटमा पर्दै 

पार्टीको ३२ औं केन्द्रीय परिषदलाई सम्बोधन गर्दै नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र नेपाली कांग्रेसले महाधिवेशनमा नियोजितरूपमै सिद्धान्त तथा नीतिबारे कुनै छलफल नगराएको धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो,“कुनै पनि पार्टीको महाधिवेशनमा पार्टीको सिद्धान्त र नीतिबारे बहस हुन्छ तर एमाले र नेकाको महाधिवेशनमा कुन व्यक्ति कुन पदमा जाने भन्नेमा मात्र केन्द्रित भयो ।”
एमालेले माक्र्सवादको उच्चारणसमेत गर्न नचाहेको उल्लेख गर्दै उहाँले एमालेको महाधिवेशनमा क्रान्ति शान्तिपूर्ण वा सशस्त्र भन्ने वैचारिक बहस हुनुपथ्र्यो समाजवाद कसरी स्थापना गर्न सकिन्छ भन्नेमा छलफल हुनुपथ्र्यो भन्नुभयो ।

अध्यक्ष बिजुक्छेले जनतालाई छक्याएर मत लिनमात्र एमाले र माओवादीले आफ्नो पार्टीको नाममा कम्युनिस्ट राखेको उल्लेख गर्दै कम्युनिस्ट पार्टीमा व्यक्तिवाद वा पुँजीवादलाई प्रश्रय दिइन्न भन्नुभयो ।बिजुक्छेले प्रमुख शासक दलहरुका गतिबिधिका कारण देश चौतर्फी ढंगले समस्यामा पर्दै गएको बताउनुभयो ।उहाँले देशका शासक दलहरुको गतिबिधिका कारण देश संकटमा फस्दै गएको बताउनुभयो ।उहाँले नेपालमा प्रत्यक्ष रुपमा बिदेशी पूँजी र संस्कृतिको प्रभाव देखिन थालेकाले देश परनिर्भर बन्दै गईरहेको बताउनुभयो । अध्यक्ष बिजुक्छेले देशको संविधानमा समाजवादको कुरा उल्लेख भएको तर देश पुँजीवादी भासमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

समाजवादको सिद्धान्त बोक्ने नेताहरु व्यवहारमा भने पूँजीवादी हुनु विडम्वनाको विषय रहेको उल्लेख गर्दै समाजवादी व्यवस्थामा उत्पादनका साधनहरु राष्ट्रियकरण हुने बताउनुभयो ।अध्यक्ष बिजुक्छेले शान्तिपूर्ण तरिकाले समाजवाद नआउने भएकाले त्यसका लागि संघर्ष जरुरी रहेकोमा जोड दिनुभयो ।बिहीबार नेमकिपाको केन्द्रीय समितिको बैठक बसेको थियो भने त्यही बैठकले पारित गरेको प्रतिबेदनलाई पार्टीको ३२ औं केन्द्रीय परिषदले पारित गरेको हो ।