नेदरल्यान्डमा कडा लकडाउन घोषणा



आम्सटर्डम, (एजेन्सी) ।

ओमिक्रोन कोरोना भाइरस भेरियन्टको सन्त्रासका कारण नेडरल्यान्डमा इसाइहरूको महान चाड क्रिसमसको दौडान कडा लकडाउन लागु गरिएको छ । गैर– आवश्यक पसल, बार, जिम, हेयर कटिंग सैलुन र अन्य सार्वजनिक स्थलहरू कम्तीमा आगामी १४ जनवरीसम्म बन्द रहने सरकारी सूचना आइतबारदेखि लागु हुनेगरी सार्वजनिक गरिएको छ । प्रत्येक परिवारका दुई जना सदस्यलाई मात्र आवश्यक किनमेलका लागि घर बाहिर निस्कने अनुमति दिइएको छ ।

नेदरल्यानडका प्रधानमन्त्री मार्क रुट्टेले यी सुरक्षा उपायहरू कुनै हालतमा पनि वेवास्ता गर्न नसकिने बताएका छन् । कोरोना भाइरसको पछिल्लो विकसित स्वरूप म्युटेट भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि युरोपभरि स्वास्थ्य सुरक्षाका उपायहरू अत्यन्तै कडा पारिएका छन् । अहिलेसम्ममै युरोभरिमै घोषणा गरिएकामध्ये नेदरलयान्डको नीति नियम सबैभन्दा कडा भएको बताइएको छ ।

रुट्टेले शनिबार आयोजित पत्रकार सम्मलेनमा भनेका छन् – ‘ आज राति म यहाँ निरस भावमा उभिने छु । अन्य थुप्रै मानिसका हालत पनि मेरोजस्तै हुनेछ । सबै कुरा एकै वाक्यमा भन्ने हो भने हामी भोलिदेखि लकडाउनमा जाँदैछौं । ’

यसै गरी कोरोना विरुद्धको बुस्टर खोप ओमिक्रोनविरुद्ध ८० प्रतिशत मात्र प्रभावकारी हुने बताइएको छ । क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा हुने अनियन्त्रित जमघटलाई लिएर पनि यो लकडाउन गरिएको हो । मानिसहरूलाई अत्यावश्यक परिस्थितिमा बाहेक घरबाट बाहिरै ननिस्कन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्