व्यायाम मन्दिरद्वारा खेल पत्रकार सम्मानित



काठमाडौं ।

व्यायामको सबैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले नेपाल समाचारपत्रका पूर्व खेल पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ । व्यायाम मन्दिरको २१औं वार्षिक साधारण सभाको अवसरमा निरञ्जन, ग्यालेक्सी जी ४ की खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई सम्मान गरेको हो । निरञ्जन हाल बीबीसी नेपाली सेवामा कार्यरत छन् ।

व्यायाम मन्दिरले लामो समयदेखि पत्रकारितामार्फत् खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख तथा कार्यक्रममार्फत नेपाल व्यायाम मन्दिर तथा व्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता मि. धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो । सम्मानित व्यक्तित्वहरूले नगद १० हजार प्राप्त गरेका छन् । व्यायाम मन्दिरले अघिल्लो वर्षदेखि खेल पत्रकारलाई पनि सम्मान गर्ने संस्कारको विकास गरेको हो ।

यस्तै, सोही कार्यक्रममा शारीरिक सुगठन तथा व्यायाम मन्दिरको विकास र विस्तारमा लामो समयदेखि योगदान पुर्याउँदै आएका संस्थाका पूर्वअध्यक्षहरू घनश्याम मुखिया र सरोज श्रेष्ठलाई लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्यो । उनीहरूले नगद ५५ हजार ५ सय ५५ प्राप्त गरे । सम्मानित व्यक्तित्वहरूले आफुले प्राप्त नगद सम्मानको २० प्रतिशत रकम व्यायाम मन्दिरले स्थापना गरेको अक्षय कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

यलो प्यागोडामा आयोजना भएको कार्यक्रममा संस्थाले सन्तति सम्मानबाट व्यायाम मन्दिरका सदस्य रत्न मानन्धरका सुपुत्र साजन मानन्धर र सह–कोषाध्यक्ष नरेश पोडेका सुपुत्री नमिता पुजारीलाई पनि नगद १० हजारसहित सम्मान पत्रले सम्मान गरेको हो ।

यसैगरी, साधारण सदस्यहरूमध्येबाट संस्थाका पूर्वअध्यक्ष, मि. नेपाल एवं अन्तर्राष्ट्रिय निर्णायक उदयबहादुर श्रेष्ठलाई दोसल्लासहित सम्मान पत्रले सम्मान गरेको हो । यस्तै, संस्थाका सचिव हरिश श्रेष्ठ र राम महर्जनलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । व्यायाम मन्दिरले आफ्नो कार्यक्रममा सदा सहयोग गर्ने संस्था एमआई मोबाइलका कार्यकारी निर्देशक संजय अग्रवाललाई पनि सम्मान गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्