उपाधि एबीसी पोखरालाई



हेटौंडा, (नेस) ।

हेटौंडामा भएको सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधि एबीसी भेट्रान्स पोखराले जितेको छ । नागस्वती भेट्रान्स हेटौंडालाई २–१ गोलअन्तरले हराएर एबीसी विजेता भएको हो ।
खेलको निर्धारित समयको सातौं मिनेटमा एबीसीका तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए ।

खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बूले गोल फर्काएर बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा बराबरी खेले पनि खेलको दोस्रो हाफको २७औं मिनेटमा एबीसीका तर्फबाट नरेन्द्रजंग गुरुङले गोल थपेपछि एबीसी भेट्रान्सले उपाधि जितेको हो । खेलको ‘म्यान अफ दी म्याच’ एबीसीका गुरूङ भए ।

विजेता एबीसीले ट्रफीसँगै एक लाख एघार हजार १ सय ११ रुपियाँ र उपविजेता नागस्वती भेट्रान्सले ५५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गरे । यस्तै, खेलका उत्कृष्ट गोलकिपर एबीसीका सूर्य शर्मा, कोच एबीसीका सुरज गुरुङ, मिडफिल्डर एबीसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एबीसीका विश्वराज श्रेष्ठ भए ।

उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित हुँदै ट्रफी र जनही पाँच हजार नगदसहित पुरस्कृत भए ।

प्रतिक्रिया दिनुहोस्