पाटा नेपालद्वारा सेफ प्रतियोगिता सञ्चालन



काठमाडौं, ( नेस) ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ग्लोबल कलेज इन्टरनेसनलसँगको सहकार्यमा एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिज अफ नेपाल शीर्षकअन्तर्गत पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता गरेको छ।

पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता पाटा युथ ट्यालेन्ट क्वेस्टको चौथो संस्करणअन्तर्गत आयोजित एक कार्यक्रम हो । वार्षिक रुपमा आयोजना गरिने युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आबद्ध सदस्य शैक्षिक संस्थामा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा अगाडि बढेको छ ।

सो कार्यक्रम प्रतिभावान युवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान सीप र क्षमता अभिवृद्धि एवम् सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु सिल्भर माउन्टेन, गेट, जीसीआई, आईएसटी र नाथमको प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली सेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा सेफ गोविन्द नरसिंह केसी, सेफ जीतेन प्रधान, सेफ सुनसरी नेपाली र सेफ विक्रम गिरीलगायतको निर्णायक मण्डलले मूल्यांकन गर्नुभएको थियो ।

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत रुबी पुडासैनी र सुन्दर शेर्पाले विजेताको रुपमा पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिताको उपाधि हात पारे। त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथम प्रतिनिधित्व गर्दै पासाङल्हामु शेर्पा र सोना श्रेष्ठ प्रथम उपविजेता र सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट प्रतिनिधित्व गर्दै सन्देश कँडेल र पेमा तामाङको द्वितीय उपविजेता घोषित भए ।

प्रतिक्रिया दिनुहोस्