जाडोसँगै विद्युतको माग तीन सय मेगावाटले बढ्यो



काठमाडौं ।

विद्युत् खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड) तीन सय मेगावाटको हाराहारीमा बढेको हो ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ । विद्युतीय चुलो, एयर कन्डिसनलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिक अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको हो ।

विद्युत्को माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । मंसिर २७ गते प्रणालीमा विद्युत्को उच्च माग १५३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १२१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युत्को पिक डिमाण्ड गत वर्षको सोही दिनको तुलनामा २६ दशमलव ५ प्रतिशत वृद्धि भएको छ । मंसिर २७ गतेको प्रणालीको पिक डिमाण्ड पूर्तिका लागि प्राधिकरणका विद्युत् गृहहरुबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युत् गृहहरुबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरुबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युत्को अधिकतम् माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गत वर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । ऊर्जाका मागका आधारमा आधारमा मंसिर २७ गते विद्युत् खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८ दशमलव ६५ प्रतिशत बढी हो ।

काठमाडौं उपत्यकाको विद्युत्को अधिकतम् माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गत वर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि भएको बताउनुभयो । ‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुलो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ, विद्युतीय सवारी साधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको छ ।’

घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताउनुभयो ।प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउ“को पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण शुरू गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्