मौलिक संस्कृतिको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री देउवा



काठमाडौं, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकतालाई मजबुत तुल्याउने बताउनुभएको छ । अठारौँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले वसन्तपुर डबलीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उहाँले परम्परागत नेपाली मौलिक सम्पदा र संस्कृतिलाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र सांस्कृतिक सम्पदा तथा सामाजिक बनोट विश्वभरमै नमुनाका रूपमा रहिआएको भन्दै विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचानको गौरवमय संस्कृतिलाई जीवन्त राख्नु साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले ज्यापू समुदायको संस्कृति र सभ्यताको संरक्षणका लागि आगामी दिनमा उपलब्ध गराउनुपर्ने आवश्यक सहयोगका लागि सरकार तयार रहेको विश्वास दिलाउनुभयो । उहाँले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापू समुदाय लागिपरेको भन्दै यसले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्