हेटौंडाबाट शुरू भयो बालबालिकालाई खोप



हेटौंडा, (नेस) ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूले विद्यालयस्तरीय शिक्षा पूरा गरेको हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाएर देशभरका लागि खोप शुरू गर्नुभएको छ।

यहाँ १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोनाविरुद्ध मोडर्ना खोप लगाउने कार्य शुरू गरिएको हो। मन्त्री खतिवडाले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गर्दै नेपालभर बालबालिकालाई विद्यालयमै खोप लगाउने कार्यक्रम शुरू गरिएको घौषण गर्नुभएको थियो ।

नेपालभर पहिलोपटक हेटौंडालाई केन्द्र बनाएर बालबालिकालाई खोप शुरू गरिएको मन्त्री खतिवडाले बताउनुभयो । खोप कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउन उहाँले आग्रह गर्नुभयो। विद्यार्थीलाई सहज होस् भन्दै देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको भन्दै उहाँले सम्पूर्ण विद्यार्थीलाई खोप अनिवार्य रहेको र सरकारसँग खोप पर्याप्त रहेको भन्दै घरपरिवार र छिमेकीलाई पनि कोरोनाविरुद्ध खोप लगाउने आग्रह गर्न उहाँले बालबालिकासँग अनुरोध गर्नुभयो ।

वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशमा २ लाखभन्दा धेरै बालबालिकाले कोरोना विरुद्ध खापे लगाउने बताउनुभयो। प्रदेशमा वागमती प्रदेशका १२ देखि १७ वर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्ध मोडर्ना खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार वागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान शुरू भएको छ। ती जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान सञ्चालन गरेका हुन् ।

खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रदेशका सबै स्वास्थ्य एकाइलाई स्पष्ट निर्देशन दिइएको मन्त्री लामाले बताउनुभयो। उहाँले खोप सञ्चालन हुने जिल्लाका स्वास्थ्य एकाइले स्थानीय तह र विद्यालयसँग समन्वय गरी लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाउने बताउनुभयो ।

खोप अभियान शुरू
सरकारले हिजो आइतबारदेखि १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफैंले पढेको हेटौँडा–४ स्थित भुटनदेवी माविको प्रांगणमा पुगेर खोप अभियानको शुभारम्भ गर्नुभएको छ।

मन्त्रालयले ५७ जिल्लामा पुस १२ गतेसम्म मोडर्नाको खोपको पहिलो मात्रा दिने जनाएको छ । यसअघि सो उमेर समूहका दीर्घ रोगीहरूलाई फाइजर खोप दिइएको सिन्धुलीसहित जिल्लामा भने यही १३ गतेबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती जिल्लामा फाइजर खोप दिइनेछ। स्वास्थ्य मन्त्रालयका अनुसार २० मध्ये ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहकालाई पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा दिइने छ भने दोस्रो मात्रा माघ ४ गतेदेखि १३ गतेसम्म दिइनेछ। बाँकी १२ जिल्लामा खोप लगाउने मिति पछि तय गरिने मन्त्रालयको भनाइ छ।

हिजोबाट शुरू गरिएको अभियानको स्थानीय तहले जिम्मेवारी लिएको छ । २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भएका विद्यालय भए नजिकैको विद्यालयसँग समन्वय गरी खोप अभियान थालिएको छ।

प्रतिक्रिया दिनुहोस्