सिरहामा छुरा प्रहारबाट एक युवकको मृत्यु,घटनाको विरोधमा स्थानीयद्वारा प्रदर्शन


न्युज अफ नेपाल, सिरहा ।

सिराहमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।  शनिबार राति घर जाने क्रममा गोलबजार-६ डोहटियाका  २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि अपरिचित युवाहरुको समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये रामकुमारको राति नै धनगढीमाईस्थित आरेक मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र निकेशको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।

घटनामा संलग्नको पहिचान हुन नसकेको र संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।यसैबीच, घटनाको विरोधमा स्थानीयले आइतबार बिहानैदेखि गोलबजारका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।