रेसुंगा विमानस्थल डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य



गुल्मी ।

गुल्मीको सिमीचौरमा निर्माणाधीन रेसुंगा विमानस्थल अन्तिम चरणका पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग निर्माणको कामले तीव्रता पाएसँगै अन्तिम चरणमा पुगे को हो ।

विमानस्थलको अन्तिम चरणका काममध्येका घेरावारको काम सम्पन्न भइसकेको छ भने धावनमार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको सहायक आयोजना प्रमुख दिनेश परियारले बताउनुभयो । अब केही दिनमै विमानस्थलले अन्तिमरुप पाउने उहाँको भनाइ छ । धावनमार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले विभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन नसकेको विमानस्थलका अन्तिम चरणका काम तीव्र गतिमा हुन थालेका छन् ।

पुरानो निर्माण व्यवसायीले काम नगरेकाले नयाँ निर्माण व्यवसायीले काम अगाडि बढाएकाले अब भने सम्पन्न हुने आशा पलाएको रेसुंगा नगरपालिका–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताउनुभयो । धावनमार्ग कालोपत्रे गर्न शुरुमा मुख्य निर्माण व्यवसायीबाट काम लिएका व्यवसायीले काम नगरेकै कारण समयमै काम सम्पन्न हुन नसकेको अर्यालले बताउनुभयो ।

विमानस्थल निर्माणका लागि बजेटको कमी नभए पनि निर्माण व्यवसायीकै ढिलासुस्तीले कामले गति लिन नसकेको उहाँको भनाइ छ । अब भने पछिल्लो एक हप्ताकै कामको गतिले धेरै आशा जगाएको अर्यालले बताउनुभयो । उहाँका अनुसार सबै क्षेत्रको चासो बढेकाले अब कुनै पनि हालतमा निर्माण कार्य ढिलो गर्न नहुनेमा जोड छ । धावनमार्ग कालोपत्रे गर्न सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएकाले बीचमा कुनै अबरोध नआए अबको डेढ महिना भित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए । निर्माणको जिम्मा लिएको एक हप्तामै आफुले धेरै काम अगाडी बढाएकाले अब केहि दिनमै काम पुरा गर्ने पाण्डेले बताए । उनका अनुसार कालोपत्रे गर्न चिसोले कुनै असर नगर्ने भएकाले कालोपत्रे गर्ने काम सम्पन्न हुने बताए । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो ।

तर परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए । विमानस्थलको टर्मिनल भवन निर्माणको लागि २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ ।

निर्माणको काम अन्तिम चरणमा रहेको छ । त्यस्तै धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियाँमा गरिरहेको छ । २०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरे पनि २०७२ सालपछि निर्माणको कामले निरन्तरता पाएको हो ।

विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलको कुल १५६ रोपनी जग्गामा विमानस्थलको एरिया छ । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्