गृह जिल्लामा देउवाको चर्को आलोचना

0
Shares

डडेल्धुरा ।

२०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा माओवादी उम्मेदवार खगराज भट्टलाई थोरै मतान्तरले पराजित गर्दै विजयी भएका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो संविधान सभाको निर्वाचनका क्रममा ज्यानको बाजी थापेर प्रचार–प्रसारमा होमिँदै पुरानै अवस्थामा पुर्याउन तल्लीन थिए, अमरगढी –७ निवासी युवराज पाण्डेय ।

चुनावका बेला माओवादी कार्यकर्ताले कांग्रेसलाई प्रचारप्रसारमा अवरोध पुर्याउन खोज्दा पाण्डेयको नेतृत्वमा युवाहरू प्रतिकारमा उत्रिन्थे । पाण्येयलाई हालसम्म सघाउँदै आएका अर्का युवा हुन् अमरगढी–७ मा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भक्त साहु । दर्जनौं युवाहरू पाण्डेय र साहुको निस्वार्थ भावनाका कारण उनीहरूलाई सघाउन प्राणको बाजी राख्न तयार हुन्छन् ।

२०७४ सालको निर्वाचनसम्म आइपुग्दासम्म प्रधानमन्त्री देउवाका निकै प्रिय कार्यकर्ताको छवि बनाइसकेका थिए पाण्डेयले । माओवादीको आधार इलाका मानिने तत्कालीन चिपुर गाविसको केन्द्रसम्म स्थानीय युवा किशोर विष्टसँग सहकार्य गरेर स्वलगानीमा सडक निर्माण गरेपछि युवराज निकै चर्चामा आएका हुन् । १९ किलोमिटर लामो सो सडकको उद्घाटनका लागि प्रमुख अतिथि बन्न देउवालाई आग्रह गर्न काठमाडौं पुगेको र देउवाले निकै माया गरेर सधन्यवाद निम्तो स्वीकार गरेको युवराज बताउनुहुन्छ ।

सोही सडक खण्डका कारण माओवादीको आधार इलाका मानिने चिपुरमा कांग्रेसले संगठन सुदृढीकरण गर्ने अवसर प्राप्त गरेको नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सहसचिव अर्जुन मल्ल बताउनुहुन्छ । नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनका क्रममा पान्डेयलगायतका युवाहरूले रघुवर भट्ट नेतृत्वको चुनावी प्यानललाई सघाएका थिए । प्रधानमन्त्री देउवा पत्नी डा. आरजु देउवाले भट्ट प्यानललाई सघाउन निर्देशन दिएपछि पाण्डेयको नेतृत्वमा दर्जनौं युवाहरूले भट्टलाई जिताउन भरसक प्रयत्न गरे ।

‘डडेल्धुरा सदरमुकाममा अर्का उम्मेदवार कर्णबहादुर मल्ल निकटस्थ नेता कार्यकर्ताहरू माथि जाइलागेका थियौं’, पाण्डेय स्मरण गर्नुहुन्छ– ‘अहोरात्र खटेर भट्ट प्यानलका लागि भोट माग्यौं तर, दुई मतको झिनो मतान्तरले दोस्रो कार्यकालका लागि मल्ल डडेल्धुरा कांग्रेसका सभापति भए ।’

नेपाली कांग्रेसको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने धोको बोकेर पाण्डेयले निकै सक्रियता देखाउनुभएको थियो । कोरोना महामारीका बेला नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलमा रहेर पाण्डेयलगायतका नेता कार्यकर्ताहरूले मानवीय सेवा गरिरहे । कोरोना संक्रमण भएका बिरामीलाई अक्सिजन व्यवस्थापनदेखि आइसोलेसन र भारतबाट आएकासाथै विभिन्न कामले डडेल्धुरा सदरमुकाम आउने सर्वसधारणका लागि सेवा दलले महिनौंसम्म खानपिन, आवास, एम्बुलेन्स सेवा र संक्रमितलाई उपचारका लागि पहलसम्म गरिरह्यो ।

गुटफुटका कारण गत स्थानीय निर्वाचनमा डडेल्धुरामा क्षति व्यहोरी सकेकाले गुटमुक्त कांग्रेस बनाउने धोकोले उहाँले युवाहरूको टिम बनाएर जिल्लाव्यापी रूपमा संगठन विस्तारमा क्रियाशीलता देखाउनुभयो । तर, यसपालि उहाँले सोचे जस्तो भएन । पार्टीमा विधि पद्धतिलाई तिलाञ्जलि दिएर आफू निकटस्थ व्यक्तिहरूलाई जिल्ला नेतृत्वमा ल्याउन प्रधानमन्त्री देउवा नै क्रियाशील देखिनुभयो ।

विधि पद्धतिसम्मत किसिमले वडादेखि पालिका र प्रदेश निर्वाचनस्तरीय समितिबाट सिफारिस भएर जिल्ला कार्यसमितिले पारितगरि पठाएका क्रियासिल सदस्यतामध्ये चार सय ६० जनाको नाम हटाएर हचुवाको भरमा तीन सय १२ क्रियाशील सदस्यता केन्द्रबाटै थप गरेर मध्यरातमा क्रियाशील सदस्यता लिष्ट सार्वजनिक भयो । ‘यस्तो हस्तक्षेप आफूले आराध्य देवता र आमा बुबाभन्दा पनि बढी सम्मान गरेका पार्टी सभापति तथा प्रधानमन्त्री देउवाबाट भयो, उहाँ सबै जिल्लाबासीका लागि साझा नेता बन्न सक्नुभएन’, पाण्डेयले भन्नुभयो– ‘आफ्नै गृह जिल्लामा देउवाले गरेको अन्याय सह्य भएन ।’

पाण्डेयसहित नेपाली कांग्रेस डडेल्धुराका अधिकांस नेता कार्यकर्ताहरूले क्रियासिल सदस्यता वितरणका क्रममा भएको धाँधलीको विरोध गर्न थाले । वर्षौंसम्म पार्टीमा दुःख गरेर कार्यकर्ताले पाएको क्रियाशील सदस्यता हचुवाका भरमा काटने र थप्ने काम हुँदा सँगै काम गरेका साथीहरूमाथिको अन्यायका बिरुद्ध उत्रिनुको विकल्प थिएन । क्रियासिल सदस्यतामा भएको अन्यायकाविरुद्ध नेपाली कांग्रेस डडेल्धुराको कार्यालयमा नेता कार्यकर्ताहरूले लामो अनसन बसे । १३ दिनपछि नेपाली कांग्रेसका शिर्ष नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरे डडेल्धुरा पुगेर अनशन तोड्न लगाए ।

डडेल्धुरामा वडा अधिवेशनका नाममा फेरि अन्याय भयो । पार्टीका जिम्मेवार नेताहरूलाई पाखा लगाएर वडा, पालिका, प्रदेश र जिल्ला अधिवेशन एकपक्षीय रूपमा सम्पन्न हुन थाले । केही सीप नलागेपछि नेपाली कांग्रेस डडेल्धुराका सभापति मल्लको नेतृत्वमा सयौं जिल्लास्तरीय नेता कार्यकर्ताहरूले काठमाडौं पुगेर नेपाली कांग्रेस मुख्यालय सानेपामा अनसन शुरू गरे । ११ दिनसम्म निरन्तर अनसन बसेका डडेल्धुराका नेता कार्यकर्तालाई नेपाली कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधि पुगेर अनशन तोड्न लगाउनुभयो ।
अनसन तोडिए पनि न्यायका लागि पटकपटक डडेल्धुरा कांग्रेसका नेता कार्यकर्ताहरूले पार्टी सभापति तथा प्रधानमन्त्री देउवासमक्ष अनुनय विनय गरिरहे । कुनै सिप नलागेपछि १४औं महाधिवेशनका क्रममा मतदान गरेर फर्किंदै गरेका देउवाबिरुद्ध युवराज र भक्तको नेतृत्वमा युवाहरू चर्का नारावाजी गरे । नाराबाजीका क्रममा प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई तितरवितर गर्नुका साथै युवराजलाई पक्राउ गरेर आधा घण्टा प्रहरी हिरासतमा राखियो ।

अन्यायका विरुद्ध लडन सिकाउने आफ्नै नेताले डडेल्धुरा कांग्रेसमा गरेको अन्याय असह्य भएकाले देउवाकै सामुन्ने उनीबिरुद्ध नाराबाजी गरेको र प्रहरी हिरासतमा बस्नुपरेकाले आवेगका कारण पत्रकारहरू समक्ष प्रतिकृया दिँदा प्रधानमन्त्री देउवालाई जुत्ता हान्ने अभिव्यक्ति दिएको युवराज बताउनुहुन्छ । ‘त्यो आवेगमा आएर बोलेको हुँ । कांग्रेसको राजनीतिमा सकृय रहिरहने भएकाले आफ्नै नेताविरुद्ध तल्लोस्तरम झरेर जुत्ता हान्ने अभिव्यक्ति दिनु थिएन,’ पाण्डेयले थप्नुभयो– ‘नेता हुन, कार्यकर्ताको आक्रोश बुझेर अझै पनि अन्यायमा परेका डडेल्धुरा कांग्रेसका नेता कार्यकर्ताहरूलाई न्याय दिलाउन भन्ने आश मरेको छैन ।’

महाधिवेशनस्थलमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा युवराजसँगै रहेका अमरगढी–७ का वार्ड सदस्य साहुले अन्यायको पराकाष्ठा भएकाले युवाहरूलाई सहन गर्न अप्ठ्यारो हुँदा सो घटना भएको प्रतिकृया दिनुभयो । युवराज र शाहुले नेपाली कांग्रेसकै राजनीतिलाई निरन्तरता दिइरहने तर अन्यायका विरुद्ध जोसुकै भए पनि प्रतिकार गरिने जनाएका छन् । उनीहरूले युवालाई सिर्जनशील बनाउन राजनीतिक क्षेत्रबाट हरदम प्रयत्नशील रहने बताए ।