भीरबाट लडेर श्रीमान् श्रीमतीको मृत्यु



गुल्मी (नेस) ।

गुल्मीमा भीरबाट लडेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका –१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

मुसीकोट नगरपालिका वडा नम्बर–१ बाङ्गेस्थित सिख्राको सामुदायिक वनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले घाइते अवस्थामा रहेको भन्ने खबर प्रहरी चौकीमा जानकारी गराउनासाथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमान्डमा ३ जनाको टोली खटिएका थिए ।

टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाएका थिए । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना बाङ्गे माइती जाने क्रममा भीरबाट लडेको प्रहरी उपरीक्षक (एसपी) भट्टराईले बताए । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्