ब्रुस स्प्रिन्गस्टिनले ५० करोड डलरमा गीतहरू बेचे



लसएन्जेल्स, (एजेन्सी) ।

चर्चित गायक ब्रुस स्प्रिन्गस्टिनले आफूले आजीवन गाएका सम्पूर्ण गीतहरूको मास्टर रिकर्डिङ सोनी कम्पनीलाई ५० करोड अमेरिकी डलरमा बिक्री गरेका छन् ।

यस सम्झौता अनुरूप उनको २० वटा स्टुडियो एल्वम अब सोनी कम्पनीको स्वामित्वमा गएका छन् । मल्टिपल युएसका अनुसार उनका अत्यन्तै लोकप्रिय क्लासिक गीत , ‘बोर्न टु रन’, ‘दि रिभर’ र ‘बोर्न इन दि युएएसए’ पनि सो सूचीमा रहेका छन् ।

बिस पटक ग्रयमी अवार्ड जित्न सफल उनले गतवर्ष मात्र संगीतबाट १ करोड ५० लाख डलर आम्दानी गरेका थिए । यस अघि अन्य होनहार गायक बब डायलन, ब्लोन्डी र डेविड बोवीले पनि यसरी नै आफ्ना एल्बमका कपीराइट बिक्री गरेका थिए ।

गत सेप्टेम्बरमा वार्नर म्युजिकले बोवीको विश्वभरिको संगीतअधिकार खरिद गरेको थियो । यसैगरी गतवर्षको डिसेम्बरमा डायलनले करिब ३० करोड डलरमा युनिभर्सल म्युजिक ग्रुपलाई ६ सय वटा भन्दा बढी गीतको एकाधिकार बिक्री गरेका थिए । गत मे महिनामा सोनी म्युजिकका प्रमुख कार्यकारिणी अधिकारी रोब स्ट्रिंगरले एउटा लगानी सम्बन्ध बैठकमा कम्पनीले एकाधिकार खरिद गर्ने व्यापारमा अहिलेसम्म १ अर्ब ४० करोड डलर लगानी गरिसकेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्