शीर्ष स्थानमा फर्कियो मनाङ

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले अपराजित यात्रा जारी राखेको छ । शनिबार आफ्नो घरेलु मैदान पोखरामा मनाङले विभागीय टिम नेपाल पुलिसलाई ३-१ ले पराजित गर्‍यो ।

पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङले आफ्नो पहिलो उपस्थितिमा नै महत्त्वपूर्ण तीन अंक हात पार्न सफल भयो । मनाङको जितमा कप्तान अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे ।

पहिलो हाफमा दुवै टिमले १-१ गोलको बराबरी खेले पनि दोस्रो हाफमा भने मनाङले २ गोल थप्यो । ९ औँ मिनेटमा मनाङले अञ्जन विष्टको गोलमार्फत अग्रता लिएको थियो । पुलिसका गोलरक्षक अघि बढेको मौकामा उनले सहज गोल गरे ।

एक गोलले पछि परेको पुलिसले ३४ औँ मिनेटमा बराबरी गोल फर्कायो । मनाङका खेलाडीले डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफमा १-१ गोलको बराबरी खेले पनि दोस्रो हाफमा मनाङले अग्रता बनायो ।

७३ औँ मिनेटमा अञ्जनले फ्रिकिकमा गोल गरे । तेस्रो गोल ८२ औँ मिनेटमा निशान लिम्बुले गर्दै टिमको सहज जित  निश्चित गरे । जितसँगै मनाङले पाँच खेलबाट बराबरीका साथमा १३ अंक बनाएर मच्छिन्द्रलाई दुई अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।