भ्रष्टाचार विकासोन्मुख देशका लागि घातक : प्रमुख आयुक्त राई



न्युज अफ नेपाल, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईद्ले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनलाई सम्बोधन गरेका छन् ।

इजिप्टको शाम एल सेइख शहरमा मंसिर २७ गतेदेखि पुस २ गते शुक्रबार सम्म सञ्चालन भइरहेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनको अवसरमा नेपालको प्रतिनिधिमण्डलका प्रमुख तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले नेपालको तर्फबाट कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारले समाजको स्थायित्व र सुरक्षामा निम्त्याउने चुनौती र खतराप्रति नेपाल चिन्तित रहेको बताए । भ्रष्टाचारले दिगो विकास र विधिको शासनलाई पनि खतरामा पार्ने कुरा औँल्याउँदै उनले भ्रष्टाचार सबै देशको शत्रु रहेको तर विकासोन्मुख देशका लागि यो अझ बढी घातक भएको उल्लेख गरेका छन् । भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पुर्‍याएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार अब स्थानीय समस्या मात्र नभई एक अन्तर्राष्ट्रिय समस्या रहेको र यसले समाज र अर्थतन्त्रमा प्रतिकूल असर पारेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धता, समन्वय र सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्