हरिसिद्धि ब्याडमिन्टन शुरू



काठमाडौं ।

हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याडमिन्टनन प्रतियोगिता २०७८ बिहीबारबाट शुरू भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिफ महर्जन र विकास महर्जनको जोडीले पुरुष युगलतर्फ विजयी शुरुवात गरेका छन् ।

महर्जन जोडीले ईरा ब्याडमिन्टन क्लबका अनमोल के.सी. र विपिन श्रेष्ठको जोडीलाई २१–२, २१–६ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । यस्तै, बालकुमारी रिमिक्सका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडीले पनि जित हात पारे । उक्त जोडीले कास्कीका विशेष बस्नेत र यासिक्सन गुरुङलाई २१–१२, २१–१३ को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा एपीएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले पनि जित निकाल्दै दोश्रो चरणमा स्थान बनाए । उक्त जोडीले वाईसीबीसीका असिम गुरुङ र नेल्सन राईको जोडीलाई २१–६, २१–११ ले हराए ।

प्रयिोगितामा यु–१९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथि गरी चार विधामा प्रतिस्पर्धा हुने छ । यु–१९ पुरुष एकल तर्फ ५० खेलाडी, महिला एकल तर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ वर्ष माथि २१ जोडीले प्रतिस्पर्धा गर्नेछन् ।

१५ लाख अनुमानित लागत रहेको प्रतियोगितामा यु–१० पुरुष तथा महिलातर्फ उत्कृष्ट तीन स्थान हात पार्ने खेलाडीहरूले नगद १५ हजार, १० हजार र ५ हजार, पुरुष युगलतर्फ ५० हजार २५ हजार र १० हजार तथा भेट्रानतर्फ ३० हजार, १५ हजार र ७ हजार ५ सयसहित मेडल टफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्