ग्लोबल आइएमई बैंकले बेलायती कम्पनीबाट ३ अर्ब ऋण लिने



कठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपियाँ) ऋण लिने भएको छ । बुधबार ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौतामा आदानप्रदान गर्नुभएको छ ।

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई सरकारको प्राथमिकताका क्षेत्रहरु जस्तै जलविद्युत्, नवीकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्नेछ । साथै यस ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्नेछ ।

सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनिनागाराजनले नेपाल सधैं सीडीसीको प्राथमिकतामा रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्