हेटौंडा भेट्रान्स कपमा बानेश्वर क्वार्टरफाइनलमा प्रवेश



हेटौंडा, (नेस) ।

हेटौंडा–५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा वालिङ, एबीसी भेट्रान्स, बगरभाइ खलक पोखरा र बानेश्वर भेट्रान्स क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

बुधबार हेटौंडा भेट्रान्सलाई ३–१ गोलले हराउँदै बानेश्वर भेट्रान्स क्वार्टरफाइनल प्रवेश गरेको छ । बानेश्वरका तर्फबाट सुमन शर्मा घिमिरेले ११ र २४औं मिनेटमा गोल गरेका थिए भने उदय श्रेष्ठले २२औं मिनेटमा गोल गरेका थिए । हेटौंडाका तर्फबाट सुरेश बानियाँले ४३ औं मिनेटमा एक गोल फर्काएका थिए । खेलमा बानेश्वरका राजु श्रेष्ठ ‘म्यान अफ दी म्याच’ बने ।

वालिङले बुटबल भेट्रान्सलाई २–० ले हराएको हो । वालिङका तर्फबाट कैलाश राईले १३ र शंकर केसीले २७ औं मिनेटमा गोल गरेका थिए । दोस्रो खेलमा एबीसी पोखराले बगरभाइ खलक पोखरा ‘बी’ लाई २–१ गोलले हराएको छ । एबीसीका तर्फबाट हरि खड्काले चौथो मिनेटमा र सञ्जय गुरुङले ३२ औं मिनेटमा गोल गरेका थिए भने बगरभाइ खलकका तर्फबाट राजकुमार घिसिङले ३०औं मिनेटमा गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ एबीसीका पूर्णबहादुर गुरुङ भए ।

बुधबार भएको तेस्रो खेलमा आयोजक हेटौंडा भेट्रान्सको रातो टिमलाई टाइब्रेकरमा निराश बनाउ“दै बगरभाइ खलक पोखरा ‘ए’ विजयी बन्यो । निर्धारित समयमा दुवै टिमका तर्फबाट दुई/दुई गोल भएपछि टाइब्रेकरमार्फत् निर्णय लिइएको हो । खेलमा हेटौंडाका तर्फबाट बलबहादुर गुरुङले ३५ र ४०औं मिनेटमा गोल गरेका थिए भने बगरभाइ खलकका तर्फबाट ३० र ४३ मिनेटमा वीरबहादुर गुरुङले गोल गरेका थिए । बगरभाइ खलकका वीरबहादुर खेलको ‘म्यान अफ दी म्याच’ बने ।

पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका १८ क्लबको सहभागिता छ । प्रतियोगिता विजेताले १ लाख ११ हजार १ सय ११ रुपिया“ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपिया“सहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्