राखेपद्वारा हाई पर्फमेन्स कमिटी गठन



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्य–सचिवस्तरीय निर्णयानुसार कमिटी गठन गरिएको हो ।

सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ तथा खेल विज्ञद्वय पार्थसारथी सेन गुप्त र सुमन डिसी रहेका छन् । सचिवमा तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहाल छन् ।

खेलकुदको माध्यमबाट के–कसरी अन्तर्राष्ट्रियस्तरमा शसक्त सहभागिता गराई उल्लेख्य पदक प्राप्त गरी राष्ट्रको गौरव र प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई खेल, खेलाडी, प्रशिक्षण र प्रतियोगिताको स्तरलाई स्वच्छ, निश्पक्ष र निर्विवाद रूपमा सुधार गरी आगामी दिनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सशक्त सहभागिताका लागि खेलकुदलाई समयानुकुल सुधार गर्दै उद्देश्य प्राप्तिसहितको अन्तर्राष्ट्रिय सहभागिता अत्यन्त आवश्यक देखिएको हुँदा राखेपमा उपयुक्त प्रतिवेदन पेस गर्न ९ बुँदे कार्यादेश (टीओआर) सहित कमिटी गठन गरिएको हो ।

कार्यादेशमा आगामी एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने सम्भावित खेलगत पुष्ट्याइँ र संख्या निर्धारण, एसियाली खेलकुदमा नेपालले खेलगत रूपमा सहभागी हुने खेलाडी संख्याको पुष्ट्याइँसहित निर्धारण गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने खेलगत खेलाडीको स्वच्छ, निष्पक्ष र निर्विवादरूपमा उत्कृष्ट खेलाडी छनोट गर्ने, राष्ट्रिय टिम तयारीका लागि निष्पक्ष रूपमा दक्ष प्रशिक्षकको छनोट गर्ने, बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीहरूको प्रशिक्षण पद्धतिको अनुगमन निरिक्षण गरी प्रशिक्षणको क्रममा देखिएका त्रुटिलाई सुधार गरी नतिजामूलक तयारी, राखेपबाट उपलब्ध हुने सेवा सुविधालाई समयानुकूल सुधार गरी नियमित बनाइ व्यवस्थापन गर्ने, खेलकुदको प्रशिक्षण क्रममा अति आवश्यक प्रशिक्षण सामाग्री र पद्धतिको पहिचान गरी सोको उचित व्यवस्थापनका लागि सिफारिस गर्ने, राष्ट्रिय खेल संघहरूसँग आवश्यक समन्वय गर्ने र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समन्वय कायम गर्ने सम्बन्धमा रहेका छन् ।

कमिटीको सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले आवश्यक छलफल गर्न राष्ट्रिय खेल संघलाई बैठकका लागि आमन्त्रण गर्ने निर्णय गरेको सचिव दाहालले जानकारी गराए । बैठकमा सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय सहभागिताको नतिजामा सुधार, खेलाडी छनोट तथा खेलको पुष्ट्याइँ, खेलाडी छनोट त्रुटिरहित हुनुपर्ने, प्रशिक्षकको स्तर वृद्धि र कुराभन्दा नतिजामुखी काममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्