सेनाको सहयोगमा खानेपानी मुहान सरसफाइ



पर्वत ।

हिउँपहिरोमा क्षतिग्रस्त भएको मुस्ताङको नाउरीकोटको खानेपानी मुहान सेनाको सहयोगमा खानेपानी उपभोक्ताले सफाइ गरिरहेका छन् । गत कात्तिक २८ गते मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट खसेको भीषण हिमपहिरोले विगत एक महिनादेखि अवरुद्ध खानेपानी मुहानको हिउँ हटाउन थालेएको हो ।

नेपाली सेनाको जोमसोमस्थित बज्रदल गणको टोलीले हिउँ पन्छाउने र खानेपानी सुचारु गर्न थालिएको थासाङ गाउँपालिकाका वडाध्यक्ष नरप्रसाद हिराचनले बताउनुभयो । सेना र उपभोक्ता मिलेर मानीपाथी हिमालको फेदमा पुगी खानेपानी मुहान सरसफाइ शुरु गरिएको छ । समुन्द्री सतहदेखि ३ हजार ४० मिटर अग्लो उचाइमा अवस्थित पानीको मुहान क्षेत्र थासाङको नाउरीकोट गाउँदेखि करिब ३ किमि टाढा पर्छ ।

‘नाउरिकोटबाट हेर्दा सानो खोल्सा देखिने भए पनि त्यहाँ पुग्दा ठूलो गल्छी रहेछ’, बज्रदल गणका क्याप्टेन सुनीलकुमार पोखरेलले भन्नुभयो– ‘त्यहाँ पुगेर हिउँ पन्छ्याउन समेत जोखिम रहेछ, साँघुरो गल्छी भएकाले आलोपालो गरी मुहानको हिउँ पन्छ्याउन थालेका छौं ।’ हिउँको करिब १ सय मिटर गहिराईमा पानीको आवाज सुनिएको र हिउँ पन्छ्याउन समय लाग्न सक्ने देखिएको छ । मानापाथी हिमालको फेंदमा अवस्थित पानीको मुहान अवरुद्ध हुँदा नाउरीकोट गाउँमा खानेपानी, सिँचाइ र ३ वटा पानी घट्टको नियमित काम ठप्प भएको छ ।

पानीको स्रोत नहुँदा नाउरीकोटका घट्टमा पीठो पिस्ने काम ठप्प भएको छ । खानेपानी लिन समेत १ किलोमिटर टाढा जानुपर्ने अवस्था आइपरेको वडाध्यक्ष हिराचनले बताउनुभयो । हिउँदयामको मौसममा हिमालको हिउँ एकैठाउँमा जमेर बस्नुपर्ने अवस्थामा सो क्षेत्रमा भीषण हिमपहिरो गएको थियो । २०४० को दशकमा पनि सो क्षेत्रमा हिमपहिरो जाँदा मानवीय क्षति हुनुका साथै थुप्रै याकचौरी पुरिएका थिए । पछिल्लोपटक गएको हिमपहिरोले थासाङका १४ वटा याकचौरी पुरिएका थिए ।

हिमपहिरो जाँदा थासाङ–२ को जनआदर्श अमरसिंह मावि कोवाङमा भागदौड मच्चिएको थियो भने स्थानीय त्रसिद बनेका थिए । विद्यालयमा भागदौड हुँदा ११ जना शिक्षक तथा विद्यार्थी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्