दुर्घटना नियन्त्रण गर्न राजमार्गमा टाइम कार्ड लागू



सल्यान ।

सल्यानमा दुर्घटना बढ्दै गएपछि राजर्मागमा टाइमकार्ड लागू गरिएको छ । राप्ती राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले समय निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको हो ।

राप्ती राजमार्गको दाङ कपुरकोट हुँदै रुकुम चल्ने गाडीमा समय निर्धारण गरिएको छ भने टाइम कार्ड लिएका सवारीसाधनले प्रहरी चौकीमा अनिवार्य प्रवेश (इन्ट्री) गराउनुपर्ने छ । तोकिएको समयभन्दा छिटो पुगेमा यातायात नियमावलीअनुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्ष्मण विकले बताउनुभयो ।

प्रत्येक सवारीसाधनलाई एक–एकवटा समय निर्धारण कार्ड वितरण गरिएको र सो कार्ड प्रहरी चौकीमा देखाई तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र नगराएमा कानुनी कारबाही अघि बढाइने उहाँको भनाइ छ । टाइम कार्ड लागू भएपछि सवारीसाधनको तीव्र गतिलाई रोक्नुका साथै दुर्घटनामा कमी आउने र यात्रुलाई सडकमा यात्रा गर्न पनि सजिलो हुने विकले विश्वास व्यक्त गर्नुभयो ।

सडकमा सवारीसाधनको चाप बढ्दै जानु तथा सडकको अवस्था दर्दनाक भएका कारण दुर्घटना बढी रहेको र लेन अनुशासनको पालना पनि नहुँदा टाइम कार्ड लागू गरिएको प्रहरीको भनाइ छ । यसअघि पनि सल्यानमा टाइम कार्ड लागू गरिएको थियो तर सम्बन्धित निकायको फितलो कार्यान्वयनका कारण रोकिएको थियो ।

यस्तै, सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले चालकसँगै १ मिनेट कार्यक्रम सञ्चालन गरेको छ । सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, अस्वस्थ गतिप्रतिस्पर्धा नगर्न तथा सडक लेनको प्रयोगबारे चालकलाई सचेत बनाउने कामगरिएको छ । सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्