समाचारपत्रकर्मी विष्टलाई खेलकुद पत्रकारिता पुरस्कार



बैतडी ।

बैतडीका पत्रकार विनोद सिंह विष्ट ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सम्मानित हुने भएका छन् । नेपाल समाचारपत्र बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागेको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिने भएको हो ।

विष्टलाई अगामी पुस ४ गते मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील रहेका छन् ।

सुदूरपश्चिमबाट विष्टसँगै मन्त्रालयले अन्य प्रदेशबाट पनि एक/एक जनालाई सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्