मेड्रिड डर्बीमा रियलको जित



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘मेड्रिड डर्बी’ मा रियल मेड्रिडले जितको नतिजा निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले एट्लेटिको मेड्रिडलाई २–० गोलअन्तरले हराएको हो । रियलको सहज जितमा कप्तान करिम बेन्जेमा र मार्काे असेन्सियोले गोल गरेका थिए । रियलले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेको थियो । खेलको १६औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । जारी सिजन उच्च लयमा रहेका बेन्जेमाको यो १३औं गोल हो । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् । दोस्रो स्थानमा रहेका भिनिसियसले १० गोल गरेका छन् ।

त्यसपछि, ५७औं मिनेटमा असेन्सियोले भिनिसियस जुनियरकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । रियलका भिनिसियस जुनियर खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । जितसँगै रियलले उपाधि दौड थप बलियो बनाएको छ । शीर्षस्थानमा रहेको रियलको १७ खेलबाट ४२ अंक पुगेको छ । पराजित एट्लेटिको २९ अंक छ ।

आइतबार राति नै भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक बाँडेको हो । बार्सिलोनाका लागि निको गोन्जालेजले १२औं र र अब्देसामद इजालजौलीले ४९औं मिनेटमा गोल गरे । घरेलु टोली ओसासुनाका डेभिड गार्सियाले १४औं र चिमी एभिलाले ८६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

खेलमा दुईपटक अग्रता लिए पनि जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको हो । स्टेडियो इउल सादर पाम्पलोना स्पेनमा आइतबार राति भएको खेलको १२औं मिनेटमा निको गोन्जालेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । उनले पाब्लो गाभीको पासलाई सदुपयोग गरेका थिए ।

तर, बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा डेभिड गार्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जोन मोन्कायोलाको पासलाई सदुपयोग गरेका थिए । खेलको ४९औं मिनेटमा एब्डेसामद इजालजुलीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा २–१ को अग्रता दिलाए । उनले काउन्टर अट्याकमा औसमाने डेम्वेलेले उपलब्ध गराएको पासमा गोल गर्न सफल भएका थिए ।

निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा इजिक्वेल एभिलाले गोल गर्दै घरेलु टोली ओसासुनालाई हारबाट जोगाए । यो बराबरीसँगै बार्सिलोनाको २४ अंक भएको छ ।

त्यस्तै, अर्को खेलमा रियल बेटिसले रियल सोसिडाडलाई ४–० गोलले हरायो । घरेलु मैदानमा फराकिलो जित निकालेको बेटिस तेस्रो स्थानमा छ । बेटिसले १७ खेलबाट ३३ अंक बनाएको छ । पराजित सोसिडाड २९ अंक छ । अर्को खेलमा भिल्लारियलले रायो भालेकानोलाई २–० गोलले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्