आम्दानी बढाउन ढुंगाखानी उत्खनन !



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा स्थानीय तहको आन्तरिक आम्दानी घटेपछि गाउँपालिकाले स्लेट ढुंगालाई उत्खनन गरी निकासी गर्न लागेका छन् । नदीजन्य पदार्थको उत्खननबाट कुस्मा नगरपालिका र जलजला गाउँपालिकाले वार्षिक २ करोड आम्दानी गर्दै आएका थिए ।

स्थानीय तहको मुख्य आम्दानीका रूपमा रहेको नदीजन्य पदार्थ उत्खननमा अदालतको आदेशले रोक लागेको छ । जलजलाका राजस्व अधिकृत लीलाधर सुवेदीका अनुसार नदीजन्य पदार्थ उत्खनन हुन नसक्दा गाउँपालिकाको आम्दानी आधा घटेको छ । आन्तरिक आम्दानीले नागरिकका अधिकांश माग सम्बोधन गर्न कठिनाइ भइरहेको सुवेदीले बतानुभयो । नदीको आम्दानी गुमेपछि गाउँपालिकाले स्लेट ढुंगालाई उत्खनन गरी निकासी गर्ने र गाउँपालिकाको राजस्वमा वृद्धि गर्ने सोच बनाएको हो । यसले खेर गएको ढुंगाले बजार पाउने र स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

स्लेट ढुंगा उत्खनन तथा कटिङ ढुंगा उद्योग सञ्चालन कार्यविधि–२०७८ तर्जुमा गरी लागू गर्न लागिएको सुवेदीले बताउनुभयो । गाउँपालिकाले स्लेट ढुंगा भएका जग्गाधनी र गाउँपालिकाबीच बिहीबार सम्झौता गरेको छ । गाउँपालिकाले आईईई गरेर सबै प्रक्रिया पूरा गरिसकेकाले तुरुन्तै प्रक्रियामा लैजाने तयारीमा छ । अब विगतमा जस्तै स्लेट ढुंगा निकासीमा व्यवसायीले बिचौलियाको संगत् गर्न नपर्ने र पारदर्शिता कायम हुनुका साथै गाउँपालिकाको राजस्वमा वृद्धि भई स्थानीय जनताका माग सम्बोधन गर्न सहज हुने सुवेदीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमा अहिले निर्माणजन्य सामग्री उत्खननमा पूर्णतः रोक लगाइएको छ । अदालतको आदेशले नदीजन्य पदार्थ उत्खननमा रोक लाग्दा निर्माण सामग्री अन्य जिल्लाबाट ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । अर्कोतिर नदीमा आश्रित परिवारको आर्थिक उपार्जनमा समस्या भएको छ । जलजलाका माझफाँट, बाँसखर्क, शालिजा, बनौ, लेखफाँटलगायत यसअघि पनि स्लेटखानी उत्खनन गरिए पनि दर्ता प्रक्रिया नपुगेको भन्दै पालिकाले रोक लगाएको थियो । अब भने सबै स्थानीय तहबाट अनुमति लिएर सञ्चालन गर्न पाउने भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्