बायर्नको पुनरागमन जित



बर्लिन, (एजेन्सी) ।

जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले पुनरागमन जित निकाल्दै तीन अंक बटुलेको छ । घरेलु मैदानमा बायर्नले माइन्जमाथि २–१ गोलको पुनरागमन जित निकालेको हो । बायर्नको पुनरागमन जितमा किङ्सले कोमान र जमल मुसिएलाले गोल गरे । माइन्जका तर्फबाट करिम ओनिसिओले एक गोल गरे ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको २२औं मिनेटमा करिम ओनिसिओको गोलबाट माइन्जले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । एक गोलले पछि परेको बायर्नले त्यसपछि माइन्जलाई दबाबमा राखे पनि दोस्रो हाफमा मात्रै बराबरी गोल फर्काउन सफल भयो ।

खेलको ५३औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले कोरिन्टिन टोलिसोको पासमा गोल गरेका थिए । ७४औं मिनेटमा जमल मुसिएलाले बेन्जामिन पाभर्डको पासमा गोल गर्दै बायर्नको जित पक्का गरे । यो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको १५ खेलबाट ३७ अंक पुगेको छ । पराजित माइन्जको २१ अंक रहेको छ ।

अर्को खेलमा बोरुसिया डर्टमन्ड घरेलु टोली बोचुमसँग १–१ गोलको बराबरीमा रोकियो । खेलको अन्त्यतिर जुलियन ब्रान्ड्टले गोल गर्दै डर्टमन्डलाई हारबाट जोगाएका हुन् । त्यसअघि, ४०औं मिनेटमा सेवास्टिएन पोल्टेरको गोलबाट बोचुमले अग्रता लिएको थियो ।

५४औं मिनेटमा डर्टमुन्डका मारिअस वल्फले गोल गरे पनि भीएआरबाट मान्यता पाएन । यो बराबरीसँगै डर्टमुन्डको १५ खेलबाट ३१ अंक पुगेको छ । बोचुम २० अंक भएको छ ।

अर्को खेलमा आरबी लेइप्जिगले बोरुसिया मोन्चेनग्लाडवाकलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो । लेइप्जिगको जितमा जोस्को जिभराडिओ, आन्द्रे सिल्भा, क्रिस्टोफोर एनकुकु र बेन्जामिन हेनरिचले गोल गर्दा मोन्चेनग्लाडवाकका रामी बेन्सेवेइनीले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्